बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

शुक्लाफाँटामा बाघ गणना सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
शुक्लाफाँटामा बाघ गणना सम्पन्न

गत फागुन अन्तिम सातादेखि ‘क्यामरा ट्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामरा संकलन भइरहेको हो।

कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सम्पन्न भएको छ। राष्ट्रिय बाघ सर्वेक्षण कार्यक्रमअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा बाघ गणनाको काम सम्पन्न भएको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिए।

गत फागुन अन्तिम सातादेखि ‘क्यामरा ट्यापिङ’ विधिबाट सुरु गरिएको राष्ट्रिय बाघ गणनाको फिल्डको काम सकिएर क्यामरा संकलन भइरहेको हो। 'शुक्लाफाँटा र डिभिजन वनअन्तर्गत राखिएका क्यामराहरू संकलन भइसकेका छन्,' उनले भने, 'संकलन भएका क्यामराका तस्बिरहरूको विश्लेषण गरेर बाघको संख्या पत्ता लगाइन्छ।'

यहाँ प्रत्येक ४ वर्षमा बाघ गणना हुँदै आएको छ। बाघ गणनाका लागि ७७ जनाको प्राविधिक टोलीसहित ५२० स्वचालित क्यामरा जडान गरिएका थिए। सन् २०२२ को राष्ट्रिय गणनाअनुसार निकुञ्जमा ३६ वटा बाघ थिए।

निकुञ्ज कार्यालयले हरेक वर्ष बाघको आन्तरिक सर्वेक्षण गर्ने गर्दछ। निकुञ्जको आन्तरिक सर्वेक्षणअनुसार यहाँ ४३ वटा बाघ छन्। यस पटकको राष्ट्रिय गणनामा पनि सोही संख्यामा बाघको संख्या हुन सक्ने अनुमान संरक्षण अधिकृतहरूको छ।

'निकुञ्जको आन्तरिक सर्वेक्षणमा ४३ वटा बाघ छन्, एकै वर्षमा धेरै संख्या नबढेका हुनसक्छन्,' संरक्षण अधिकृत वाग्लेले भने, 'यसपटकको राष्ट्रिय गणनामा पनि त्यही संख्या हुन सक्छ।' रासस


प्रकाशित : आइतबार, चैत २२ २०८२१४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend