काठमाडौं- पश्चिम एसियामा विकसित भू-राजनीतिक तनावले विश्व अर्थतन्त्रमा तरंग पैदा गरिरहँदा यसको असर नेपालमा पनि देखिन थालेको छ। समष्टिगत सूचकहरू अझै स्थिर देखिए पनि महँगी र विप्रेषण आप्रवाहमा दबाबका प्रारम्भिक संकेतहरू सतहमा आउन थालेका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्मको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार उपभोक्ता मूल्यवृद्धि दर पछिल्ला महिनामा उकालो लाग्न थालेको छ। फागुनमा वार्षिक बिन्दुगत मूल्यवृद्धि ३.६२ प्रतिशत पुगेको छ, जुन माघको ३.२५ प्रतिशतको तुलनामा उच्च हो। यद्यपि, अघिल्लो वर्षको सोही अवधिको ३.७५ प्रतिशतभन्दा भने केही कम रहेको छ।
विशेषतः फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण गरेपछि पश्चिम एसियामा ऊर्जा आपूर्ति शृंखला प्रभावित बनेको छ। कच्चा तेल, ग्याससँगै रासायनिक मल र प्लास्टिकजन्य कच्चा पदार्थको आपूर्तिमा अवरोध आउँदा अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धि भएको छ। यसको प्रत्यक्ष प्रभाव आयातमा निर्भर अर्थतन्त्र भएका देशहरूमा देखिएको छ, जसमा नेपाल पनि अछुतो छैन।
राष्ट्र बैंकले चालु आवमा मूल्यवृद्धि दर ५ प्रतिशतभित्र सीमित राख्ने लक्ष्य लिएको भए पनि पछिल्ला महिनामा देखिएको क्रमिक वृद्धि चिन्ताजनक संकेतका रूपमा हेरिएको छ। २०८१ माघयता ५ प्रतिशतभन्दा तल रहेको महँगी दर अब विस्तारै उकालो लाग्न थालेको छ। यदि पश्चिम एसियाको तनाव लम्बिँदै जान्छ भने पेट्रोलियम पदार्थसँगै अन्य औद्योगिक कच्चा पदार्थ र उपभोग्य वस्तुको मूल्य थप बढ्ने जोखिम रहेको छ।
विप्रेषण आप्रवाहमा पनि मासिक रूपमा केही गिरावट देखिएको छ। फागुनमा कुल १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ, जुन अघिल्लो महिना माघको १ खर्ब ९८ अर्ब ८ करोड रुपैयाँको तुलनामा करिब १० अर्बले कम हो। यद्यपि समग्र अवधिमा भने विप्रेषण सुदृढ नै देखिएको छ। चालु आवको आठ महिनामा कुल विप्रेषण ३७.७ प्रतिशतले बढेर १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९.५ प्रतिशत वृद्धिको तुलनामा उल्लेखनीय सुधार हो।
महँगीको मासिक प्रवृत्ति (आव २०८२/८३)
| महिना | मूल्यवृद्धि (%) |
|---|---|
| साउन | १.६८ |
| भदौ | १.८७ |
| असोज | १.४७ |
| कात्तिक | १.११ |
| मंसिर | १.६३ |
| पुस | २.४२ |
| माघ | ३.२५ |
| फागुन | ३.६२ |