बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अर्थमन्त्री वाग्लेको एक साता : सुधारका तीन प्रमुख निर्णय, निजी क्षेत्रसँग संवाद र बजेट तयारी तीव्र

आइतबार, चैत २२ २०८२
अर्थमन्त्री वाग्लेको एक साता : सुधारका तीन प्रमुख निर्णय, निजी क्षेत्रसँग संवाद र बजेट तयारी तीव्र

चैत १३ गते पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका अर्थमन्त्री वाग्लेले छोटो अवधिमै आर्थिक सुधार, राजश्व सुदृढीकरण र बजेट तयारीलाई समानान्तर रूपमा अघि बढाएका छन्।

काठमाडौं- स्वर्णिम वाग्ले नेतृत्वको अर्थ मन्त्रालयले पदबहालीको पहिलो सातामै नीतिगत सक्रियता बढाएको छ। चैत १३ गते पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका अर्थमन्त्री वाग्लेले छोटो अवधिमै आर्थिक सुधार, राजश्व सुदृढीकरण र बजेट तयारीलाई समानान्तर रूपमा अघि बढाएका छन्।

पदभार सम्हालेपछि उनले तीन महत्वपूर्ण नीतिगत निर्णय गरेका छन्। २०८२ चैत १२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार पार्दै सरकारका निर्वाचन वाचा कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने प्रक्रिया सुरु गरिएको छ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनका आधारमा राजश्व अनुसन्धान विभागसहित करिब १५ वटा ऐन खारेज गर्ने तयारी अघि बढाइएको छ। त्यस्तै निजी उद्यम–व्यवसायको सुरक्षा तथा प्रवर्द्धन, ठूला विकास आयोजना सहजीकरणलगायत विषय समेट्दै नयाँ विधेयक तथा संशोधनको प्राथमिकता निर्धारण गरी व्यापक आर्थिक–कानूनी सुधारको मार्गचित्र बनाउने निर्णय गरिएको छ।

प्रशासनिक सुधारतर्फ पनि मन्त्रालय सक्रिय देखिएको छ। अर्थमन्त्री वाग्लेले मन्त्रिस्तरीय निर्णयबाट ३० जना उपसचिवलाई मेरिटका आधारमा पदस्थापन गरेका छन्। नियमित बढुवाबाट आएका राजश्व समूहका उपसचिवलाई योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयभित्रको कार्यप्रणाली र प्रगतिबारे जानकारी लिन अर्थमन्त्री वाग्ले निरन्तर ब्रिफिङमा जुटेका छन्। बजेट, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध, राजश्व व्यवस्थापन, वित्तीय संघीयता, योजना अनुगमन तथा मूल्याङ्कन र वित्तीय क्षेत्र महाशाखासहित विभिन्न निकायको अवस्था बुझ्दै आएका छन्। यसक्रममा नेपाल बीमा प्राधिकरण, महालेखा नियन्त्रक कार्यालय, भन्सार विभाग र आन्तरिक राजश्व विभाग को कार्यसम्पादन, बजेट कार्यान्वयन र राजश्व संकलन अवस्थाबारे विस्तृत जानकारी लिइएको छ।

राजश्व चुहावट नियन्त्रणलाई प्राथमिकतामा राख्दै उनले उच्चस्तरीय समितिको बैठक बोलाएर सुरक्षा निकाय र राजश्व प्रशासनलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन्। सेवाग्राहीलाई दुःख नदिई राजश्व संकलन बढाउन र चालु आर्थिक वर्षको लक्ष्य पूरा गर्नुका साथै सम्भव भएसम्म लक्ष्यभन्दा बढी संकलन गर्न उनले आग्रह गरेका छन्।

निजी क्षेत्रसँगको संवादलाई पनि उनले समान रूपमा अघि बढाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श का पदाधिकारीसँग छलफल गर्दै उनले सरकारको नीति तथा प्राथमिकताबारे जानकारी गराएका छन्। निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति लिइने स्पष्ट पार्दै उनले लगानी विस्तार र रोजगारी सिर्जनामा सक्रिय हुन आग्रह गरेका छन्।

यसैबीच आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारी सुरु गरिएको छ। सहसचिव उत्तर खत्रीको संयोजकत्वमा बजेट लेखन समिति गठन गरिएको छ भने समितिलाई पूर्णता दिने काम जारी रहेको मन्त्रालयले जनाएको छ। पदभार सम्हालेयता अर्थमन्त्री वाग्लेले तीन दर्जनभन्दा बढी मन्त्रिस्तरीय निर्णय गरिसकेका छन्।

राजश्व परामर्श कार्यक्रम अन्तर्गत अर्थमन्त्री वाग्ले वीरगन्ज पुगेर वीरगन्ज एकीकृत भन्सार जाँचपास केन्द्र को निरीक्षण गरेका छन्। पर्सा र बाराका आन्तरिक राजश्व कार्यालयको अनुगमनपछि वीरगन्ज उद्योग वाणिज्य संघ द्वारा आयोजित अन्तरक्रियामा सहभागी हुँदै उनले आगामी बजेटका लागि निजी क्षेत्रका सुझाव संकलन गरेका छन्।


प्रकाशित : आइतबार, चैत २२ २०८२०७:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend