बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

खाडीमुलुकमा सामाजिक सञ्जालमार्फत युद्धको अफवाह फैलाएको भन्दै ११ नेपाली पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २० २०८२
खाडीमुलुकमा सामाजिक सञ्जालमार्फत युद्धको अफवाह फैलाएको भन्दै ११ नेपाली पक्राउ

'पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरुसँग जानकारी दिने काम भइरहेको छ।'

काठमाडौं- इजरायल–अमेरिका र इरानबीच चलेको युद्धबारे अफवाह फैलाउने श्रव्यदृश्य सामग्री, तस्बिरलगायत सामाजिक सञ्जालमा पोष्ट गरेका कारण पश्चिम एसियाका विभिन्न मुलुकमा ११ नेपाली पक्राउ परेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार पक्राउ पर्नेमा साउदी अरेबियामा चार, युनाइटेड अरब इमिरेट्स (यूएई) र कतारमा तीन/तीन तथा ओमानमा एक जना रहेका छन्।

क्षेप्यास्त्र तथा ड्रोनमार्फत भइरहेको आक्रमणको तस्बिर तथा श्रव्यदृश्य सामग्री खिचेर कुनै पनि सामाजिक सञ्जालमा डर त्रास देखाउन पोष्ट गरे कानूनी सजाय भोग्नुपर्ने व्यवस्था छ। त्यही अनुरुप हालसम्म ११ नेपालीलाई सामाजिक सञ्जालमा त्यस्ता किसिमका सामग्री राखेर कानून उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए।

'पक्राउ परेका नेपाली नागरिकको अवस्था र छुटाउन सकिने विषयमा सम्बन्धित देशका दूतावास र नियोगहरुसँग जानकारी दिने काम भइरहेको छ। पक्राउ परेका नेपाली नागरिक कुन कानून उल्लङ्घनअन्तर्गत पक्राउ गरेका हुन् र कति जरिवाना लाग्छ भन्नेबारे जानकारी लिने काम भइरहेको छ', प्रवक्ता क्षेत्रीले भने।

मध्य पश्चिम मुलुकमा युद्धको प्रभावका कारण रोजगार गुमाउनुपर्ने जोखीम नरहेको प्रवक्ता क्षेत्रीले बताए। उनका अनुसार खास गरी होटल, रेष्टुरेण्ट र पर्यटन जस्ता क्षेत्रमा नेपाली कामदारले जागिर गुमाउने चिन्ता बढेको भए पनि ठूलो क्षेत्रमा त्यसको खतरा नरहेको सम्बन्धित नियोगहरुले जानकारी दिएका छन्। खाडी मुलुकमा युद्धबाट प्रभावीत/ असुरक्षित भइ घर फर्किन चाहने नेपालीलाई उद्धार गर्ने काम निरन्तर भइरहेको उनले बताए।

मन्त्रालयले जारी गरेको ‘कल सेन्टर’मा नेपाली नागरिकले उडानको अवस्था के छ? घर फर्किन चाहने र श्रम स्वीकृतिबारे जिज्ञासा राख्ने गरेका प्रवक्ता क्षेत्रीले बताए।

'अहिलेसम्म ८६ हजार ४२० जनाले नाम दर्ता गराएका छन्। असुरक्षित छु भन्नेको सङ्ख्या विस्तारै कम हुँदै गएको छ। असुरक्षित छु भन्नेहरुले पनि विस्तारै सुरक्षित भएर यहीँ काम गर्ने भनिरहेका छन्। ट्रान्जिटमा परेकाहरुको उद्धार लगभग पूरा भइसकेको छ' उनले भने।


प्रकाशित : शुक्रबार, चैत २० २०८२१८:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend