पर्सा- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुत गतिमा अगाडि बढाएको बताएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहले निर्देश गरेको गतिअनुसार सुधारको काम अघि बढिरहेको बताए।
'प्रधानमन्त्रीले एउटा गति सेट गरिदिनुभएको छ। त्यस रफ्तारमा काम हुन थालेको छ। सिङ्गो संघीय सरकार त्यो रफ्तारलाई पछ्याइरहेको छ”, मन्त्री डा वाग्लेले भने, ‘हाल मन्त्रालयबीच नै कसले तीव्र रफ्तारमा काम गर्ने भनेर होडबाजी नै चलेको छ। राम्रो काम गर्नका लागि एउटा मन्त्रालयको गतिलाई अर्काे मन्त्रालयको गतिले उछिन्ने काम पनि भइरहेको छ।'
उनले आफूले अर्थमन्त्रीमा बहाल भएको दिनदेखि नै उद्योगी-व्यवसायीलाई सकारात्मक सन्देश दिने प्रयत्न गरेको बताए। 'यहाँका उद्योगी-व्यवसायीहरूले वर्षौँदेखि हैरानी भएको गुनासो छ। सोही गुनासोलाई पहिलो दिनदेखि सम्बोधन गर्ने प्रयास गर्दै आइरहेका छौँ', डा वाग्लले भने।
उनले पूर्वअर्थमन्त्रीसमेत रहेका रामेश्वर खनालको नेतृत्वमा लेखिएको उच्चस्तरीय आर्थिक सुधार प्रतिवेदनले सिफारिस गरेका केही कुराहरूलाई सम्बोधन गर्ने प्रयास गरेको बताए। अर्थमन्त्री वाग्लेले अर्थमन्त्रीको पदवहाल गर्नेवित्तिकै राजस्व अनुसन्धान विभागको खारेजी र सांकेतिक रूपमा १५ वटा पुराना असान्दर्भिक ऐनहरू खारेजी गर्ने निर्णय गरिएको बताए।
उनले भने, 'यो सुरुवात मात्रै हो, थप काम अगाडि बढ्दै छन्। विगतमा गठबन्धन सरकारले काम गर्न यो वा त्यो बाहना गर्थे, जनताले अभूतपूर्व मत दिएकाले अब त्यो छुट हामीलाई छैन। त्यसैले राम्रो काम गर्न सुरु गरिसकेका छौँ।'
अर्थमन्त्री वाग्लेले राजस्वको लक्ष्यभन्दा धेरै रकम संकलन गर्नेगरी काम गर्नका लागि वीरगञ्ज भन्सारका कर्मचारीहरूलाई निर्देशन दिए।
‘लक्ष्यअनुसार राजस्व उठाउनको लागि एउटा दबाब पनि पर्ने गर्छ। त्यतिबेला उद्योगी–व्यवसायीहरू मारमा पनि पर्ने गर्छन्। तर, उद्योगी व्यवसायीलाई धरपकड र छापा मार्नेभन्दा पनि फकाइ–फकाइ वा संवादबाटै राजस्व उठाउनेतर्फ अघि बढ्न निर्देश गर्दछु' उनले भने 'घुसको लेनदेन हुने गरेका विभिन्न खालका गुनासाहरू पनि रहेका छन्। त्यस्ता गुनासाहरूलाई पनि अन्त्य गर्न जरुरी छ।'
अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाइएको बताएका छन्।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले उद्योगमैत्री नीति नहुँदा उद्योगी व्यवसायीहरू मर्कामा परेको गुनासो गरे। उनले उद्योगको प्राथमिक कच्चापदार्थको रूपमा रहेको बिजुली नियमित र भरपर्दाे व्यवस्था गर्न आग्रह गरे। रासस