बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

हवाई यात्रामा लाग्दै आएको यात्रु सेवा शुल्क बढ्ने

मंगलबार, चैत ८ २०७८
हवाई यात्रामा लाग्दै आएको यात्रु सेवा शुल्क बढ्ने

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले 'नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली २०६७' को संशोधन गर्दै हवाई यात्रुसँग लिँदै आएको यात्रु सेवा शुल्क बढाउने तयारी गरेको छ।

यात्रु सेवा शुल्क बढाउने गरी तयार भएको 'विमानस्थल सेवा शुल्क नियमावली २०७८' को मस्यौदा मन्त्रिस्तरीय निर्णय गरेर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको छ। नयाँ नियमावली चैत २ गते मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत भएको हो। 

मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत हुँदै मन्त्रिपरिषदमा पुगेको नियमावलीको मस्यौदामा यात्रु सेवा शुल्क बढाउने प्रस्ताव भएको छ।

विमानस्थल सेवा शुल्क नियमाली २०६७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत सार्क मुलुकका लागि उडान गर्ने यात्रुसँग प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ र सार्क मुलुकबाहिरका नागरिकसँग १ हजार रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था थियो।

सोहीअनुसार रकम संकलन भइरहेको थियो। साथै विमानस्थल सेवा शुल्क नियमावली २०६७ मै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक अन्य विमानस्थलबाट सार्क मुलुकमा यात्रा गर्नेसँग ५ सय र अन्य मुलुकमा यात्रा गर्नेसँग ७ सय ५० रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था थियो।

तर अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको 'विमानस्थल सेवा शुल्क नियमावली २०७८' मा उक्त रकमलाई बढाउने प्रस्ताव भएको छ।

स्वीकृतका लागि मन्त्रिपरिषद पुगेको नियमावालीको मस्यौदामा विमानस्थल विकास शुल्क लाग्ने विमानस्थलमा प्रतियात्रु (मूल्य अभिवृद्धिकर बाहेक) १ हजार रुपैयाँ यात्रु सेवा शुल्क बनाउने विषय समावेश गरिएको छ।

यसैगरी विमानस्थल विकास शुल्क नलाग्ने विमानस्थलमा प्रतियात्रु (मूल्यअभिवृद्धि करबाहेक) १ हजार ५ सय रुपैयाँ यात्रु सेवा शुल्क लाग्ने व्यवस्था गर्न लागिएको हो।

यसैगरी आन्तरिक हवाई यात्रुसँग लिँदै आएको यात्रु सेवा शुल्क पनि बढ्ने भएको छ। विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, चन्द्रगढी, विराटनगर, सिमरा, भैरहवा (गौतमबुद्ध विमानस्थल),नेपालगन्ज, लुक्ला, जोमसोम, धनगढी, जनकपुर, भरतपुर र मेघौली विमानस्थलको हकमा मूल्य अभिवृद्धि करसहित दुई सय रूपैयाँ यात्रु सेवा शुल्क लाग्ने व्यवस्था थियो।

यसैगरी जुम्ला, सुर्खेत, ताप्लेजुङ्, रारा, सिमिकोट, मनाङ, रुकुम (सल्ले) र तुम्लिङ्टार विमानस्थलको हकमा मूल्य अभिवृद्धिकर सहित  १ सय रुपैयाँ यात्रु सेवा शुल्क लिने व्यवस्था विमानस्थल सेवा शुल्क नियमावली २०६७ मा उल्लेख छ। 

यसैगरी विमानस्थल सेवा शुल्क नियमावी २०६७ मै माथि उल्लेख नगरिएका बाहेकको विमानस्थलबाट यात्रा गर्ने यात्रुसँग यात्रु सेवा शुल्कवापत मूल्य अभिवृद्धि करसहित १० रुपैयाँ लिने व्यवस्था गरिएको थियो।

सोहीअनुसार प्राधिकरण अन्तर्गतका विमानस्थलबाट यात्रु सेवा शुल्कवापतको रकम उठाउँदै आएको थिए। तर स्वीकृतिका लागि मन्त्रिपरिषदमा पुगेको विमानस्थल सेवा शुल्क नियमावली २०७८ को मस्यौदामा अन्तर्राष्ट्रिय विमानस्थलको हकमा ३ सय रुपैयाँ (मूल्य अभिवृद्धि कर सहित) लिने उल्लेख गरिएको छ।

यसैगरी चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, गौतम बुद्ध, लुक्ला, जोमसोम, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थलको हकमा मूल्य अभिवृद्धि करसहित २ सय ५० रुपैयाँ लिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको मस्यौदामा उल्लेख छ।

यसैगरी तुम्लिङटार, फाप्लु, रामेछाप, मेघौली, सिमिकोट, जुम्ला, रारा, ताप्लेजुङ, थामखर्क, भोजपुर, लामिडाँडा, रुम्जाटार, खानीडाँडा, दाङ, मनाङ, बाजुरा, डोल्पा (जुफाल, मसिनेचौर) डोटी, बैतडी, रुकुम (सल्ले, चौरजहारी), बझाङ्ग र साँफेबगर विमानस्थलको हकमा कर सहित २ सय रुपैयाँ र माथि उल्लेख नभएको विमानस्थलको हकमा १ सय रुपैयाँ यात्रु सेवा शुल्क लाग्ने गरी विमानस्थल सेवा शुल्क नियमावली संशोधन गर्न लागिएको हो।

यस्तो छ व्यवस्था

sewa shulka.jpg

 


प्रकाशित : मंगलबार, चैत ८ २०७८०४:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend