काठमाडौं- गएको दशकमा नेपालको राजकाजदेखि व्यवसायसम्म प्रभावशाली मानिएका व्यवसायी दीपक भट्टलाई अन्तत: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको छ। भट्टमाथि विभिन्न वित्तीय अपराध तथा अपचलन गरेको अभियोगमा अनुसन्धान भइरहेको थियो। पछिल्लो समय रादानीसमेत रोक्का गरिएको थियो। बिहीबार भने पक्राउ परेका थिए। भट्टलाई १० दिन थुनामै राखेर अनुसन्धान गर्ने अनुमति अदालतबाट प्रहरीले पाइसकेको छ।
भट्टमाथि मुख्यतया तीनवटा स्रोतबाट अपचलन गरेको र त्यसरी भएको आम्दानीलाई शुद्धीकरण गर्नका लागि सेयर बजार तथा अन्य विधि नपाएनको अभियोग छ। बैंकको ऋणको दुरुपयोग, सार्वजनिक कम्पनीको स्रोतको गैरकानूनी परिचालन र अवैध आम्दमनीबाट आर्जन भएको पैसाको स्रोत लुकाउने तथा शुद्धीकरण गरेको र यसमा थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
भट्टमाथि अर्को मुख्य अभियोग अधिकांश वित्तीय अपचलन तथा शुद्धीकरणकाका लागि योजनाकारको रुपमा काम गरेको छ। भट्ट र उनको समूहकै अग्रसरतामा लाइसेन्स पाएको हिमालयन रिइन्स्योरेन्स कम्पनीबाट करिब ३ अर्ब रुपैयाँ लिएर व्यक्तिका नाममा सेयर खरिद गरेको, सेयरको इन्साइडर ट्रेडिङबाट आम्दानी गरेको जस्ता कुरा बीमा प्राधिकरणको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाइएको थियो।
निवर्तमान अर्थमन्त्री रामेश्वर खनालको अग्रसरतामा भट्टमाथि अनुसन्धान अघि बढेको थियो। भदौ २३/२४ गतेको विद्रोहभन्दा अघिको सत्तामा निकै प्रभावशाली मानिएका भट्टमाथि अनुसन्धान भएको थिएन। जहिले पनि सत्ताको आर्किटेक मानिने भट्टलाई कसैले छुन सकेको थिएन। यहाँसम्म कि आन्दोलनपछिको सरकारमा पनि अनुसन्धान गर्न ब्युरोक्रेसीको अनिच्छा थियो। ‘तर यसमा खनाल सरले निकै जोडबल गरेर यसमा काम अघि बढाउनुभयो’ स्रोतले भने।
यसको सुरुवाति अनुसन्धान बीमा प्राधिकरणबाटै गरिएको थियो। प्राधिकरणको रायसहितको प्रतिवेदन तथा विभागको पहिलेकै अनुसन्धान लगायतको आधारमा भट्टलाई नियन्त्रणमा लिएर थप असन्धान गर्नुपर्ने भन्दै प्रहरीले पक्राउ गरेको थियो।