काठमाडौं- नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि बढाएको छ।
आज मध्यराति १२ बजेदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ।
केही दिनअघि भारतबाट बढेर आएको मूल्य नै कायम राखेको निगमले बिहीबार भने मूल्य बढाएको हो। भारतबाट मूल्य बढेर आएको दिन निगमले हवाई इन्धनको मात्र मूल्य बढाएको थियो।
घाटा थेग्न नसक्ने अवस्था आएपछि निगमले बिहीबार पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५ रूपैयाँ बढाएको हो।
नयाँ वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ।
यसअघि यो वर्गमा पेट्रोल प्रतिलिटर १८७ रुपैयाँ थियो। यी तीन ठाउँमा यसअघि डिजेल र मट्टितेलको मूल्य १६७ रुपैयाँ लिटर रहेकामा अब १८२ रुपैयाँ पुगेको छ।