बागलुङ- चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारमार्फत बागलुङमा ९९ सिँचाइ आयोजना सञ्चालनमा छन्। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङमार्फत उक्त आयोजना कार्यान्वयनमा आएका हुन्। प्रदेश सरकारले विनियोजन गरेको १५ करोड रुपैयाँभन्दाबढी लागतमा सिँचाइ आयोजनाको काम अगाडि बढाइएको हो।
यस वर्ष जिल्लामा १४ वटा तटबन्धसहित १ सय १३ आयोजना छन्। तीमध्ये ६० वटा आयोजना उपभोक्ता समितिमार्फत काम भइरहेका छन् भने १६ वटा ठेक्कामार्फत काम भइरहेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी सुवोध नेपालले जानकारी दिए। उनका अनुसार ११ वटा आयोजना ठेक्का लगाउने प्रक्रियामा र बाँकी आयोजना सम्झौताको प्रक्रियामा छन्।
नेपालले भने, 'यस वर्षका अधिकांश आयोजना कार्यान्वयनमा गइसकेका छन्, केही आयोजना सम्पन्न पनि भएका छन्। असार मसान्तभित्रै काम सक्नुपर्ने धेरैजसो आयोजनाको काम अहिले धमाधम भइरहेको छ।'
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको करिब २० प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ। जिल्लामा कुल १ लाख ७८ हजार ४ सय हेक्टर जमिन रहेकामा ४६ हजार १ सय ४८ हेक्टर जमिन खेतीयोग्य छ।
हाल ३० हजार ५ सय ६४ हेक्टरमा खेती हुँदै आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङले जनाएको छ। हालसम्म ६ हजार ९ सय १३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाइ सुविधा पुगेको छ भने बाह्रै महिना सिँचाइ हुने क्षेत्रफल भने दुई हजार ८ सय १५ हेक्टर रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका सूचना अधिकारी नेपालले जानकारी दिए।
बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भूभाग भिरालो छ। जिल्लाका धेरैजसो स्थानमा अझै पनि सिँचाइको प्रभावकारी सुविधा नहुँदा उत्पादन बढाउन नसकिएको अगुवा किसान प्रेमप्रसाद कँडेलले बताए। जिल्लाका अधिकांश भूगोल भिरालो रहेकाले सिँचाइको प्रभावकारी सुविधा पुग्नुपर्नेमा उनले जोड दिए। रासस