काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघ (एफ्क्यान) को नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। जारी अधिवेशनअन्तर्गत हुन लागेको निर्वाचनमा दुई प्रमुख प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
महासंघको नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डे आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। लामाले अनुभव र संस्थागत निरन्तरताको एजेन्डा अघि सारेका छन् भने पाण्डेले युवा नेतृत्व, परिवर्तन र व्यवसायीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएका छन्।
लामा समूहले अनुभवलाई मुख्य आधार बनाउँदै आफ्नो टिम प्रस्तुत गरेको छ। उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ उम्मेदवार रहेका छन्। लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन्। महासचिवका उम्मेदवार घिमिरे यसअघि महासंघको उपमहासचिवका रूपमा काम गरिसकेका अनुभवी व्यक्ति मानिन्छन्।
उता पाण्डे समूह युवा जोस र संरचनागत परिवर्तनको नारासहित चुनावी प्रतिस्पर्धामा छ। उक्त समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतम उम्मेदवार रहेका छन्। पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पदमा रोशन दाहाल र रामजी पन्त (मुकेश)बीच प्रतिस्पर्धा हुने देखिएको छ। महासचिव पदका लागि बलिभद्र राना र शिवहरि घिमिरे उम्मेदवार रहेका छन्। राना व्यवसायिक सोच भएका व्यक्तिका रूपमा चिनिन्छन् भने घिमिरे संगठनभित्रको अनुभवका कारण बलियो उम्मेदवारका रूपमा हेरिएका छन्।
दुई प्रमुख प्यानलबाहेक प्रमोद लामिछाने ले स्वतन्त्र उम्मेदवारी दिएका छन्। निर्माण क्षेत्रमा करिब २८ वर्षको अनुभव सँगालेका उनले नीतिगत स्पष्टता र सार्वजनिक खरिद ऐन सुधारलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। सोही पदमा मंगल शाही, अशोककुमार केसी र राजकुमार बास्ताकोटी समेत प्रतिस्पर्धामा रहेका छन्।
त्यस्तै, आन्तरिक उपमहासचिव पदमा सन्तोष साह, चन्द्रशेखर मल्ल र सुवित श्रेष्ठ बीच प्रतिस्पर्धा हुने देखिएको छ। कोषाध्यक्ष पदमा बालाजु श्रेष्ठ र उज्ज्वल गौतम आमनेसामने छन् भने सह-कोषाध्यक्ष पदमा उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह बीच प्रतिस्पर्धा हुने भएको छ।
यसपटकको निर्वाचनले महासंघभित्र अनुभव र युवा नेतृत्वबीचको प्रतिस्पर्धा रोमान्चक हुँदैछ। दुवै प्यानलले सार्वजनिक खरिद ऐन संशोधन, निर्माण व्यवसायीका समस्या समाधान, भुक्तानी ढिलाइ, ठेक्का व्यवस्थापनलगायत विषय चुनावी ऐजेन्डा बनाएका छन्।