काठमाडौं- गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आजदेखि सुरु हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा प्रतिनिधिसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।
रामचन्द्र पौडेल ले चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए। बैठकको सुरुमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउने तथा मन्त्रिपरिषद् गठनबारे जानकारी दिने कार्यसूची रहेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभा बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र अधिवेशन आह्वान गर्नुपर्ने हुन्छ। निर्वाचन आयोग नेपाल ले चैत ५ गते निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो भने नवनिर्वाचित सांसदहरूले चैत १२ गते शपथ लिएका थिए।
२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिष्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच र एक स्वतन्त्र सांसद रहेका छन्।
अधिवेशन प्रारम्भको अवसरमा आजको बैठकमा विभिन्न दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ। रवि लामिछाने, रामबहादुर थापा, पुष्पकमल दाहाल, हर्क साम्पाङ तथा ज्ञानबहादुर शाही ले सम्बोधन गर्ने तय भएको संघीय संसद् सचिवालयले जनाएको छ। नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्ने नेताको नाम भने टुंगो लाग्न बाँकी छ।
आजको बैठकमा गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यसैगरी, ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभाले आफ्नै नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही अघि बढाउने प्रस्ताव प्रस्तुत गर्नेछन्। सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयनसम्बन्धी कार्यसूची पनि रहेको छ।
आजकै बैठकबाट सभामुख निर्वाचनको तालिका सार्वजनिक गरिनेछ। सर्वदलीय सहमतिअनुसार चैत २२ गते सभामुख निर्वाचन गर्ने तयारी छ। सोही अनुसार प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम ज्येष्ठ सदस्य केसीले निर्वाचन मिति घोषणा गर्नेछन्।
बैठकको अन्त्यमा संविधानसभा तथा पूर्वसदस्यहरूको निधनप्रति शोक प्रस्तावसमेत प्रस्तुत गरिने कार्यसूची रहेको छ।