काठमाडौं- आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ। यस वर्षको परीक्षामा कुल पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी भएका छन्।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा परीक्षा सञ्चालन गरिएको हो।
यस वर्ष नियमिततर्फ चार लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थीले परीक्षा दिइरहेका छन्। परीक्षार्थीमध्ये छात्राको सङ्ख्या बढी रहेको छ। दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी छन्।
परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ। माध्यमिक तह अध्यापन हुने ११ हजार ३७९ विद्यालयका विद्यार्थी यस परीक्षामा सहभागी भएका हुन्। जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले पनि परीक्षा दिइरहेका छन्।
परीक्षा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन यस वर्ष नयाँ निर्देशिका लागू गरिएको छ। प्रश्नपत्र सम्बन्धित केन्द्रमा समयमै पुर्याइएको जनाइएको छ भने प्रत्येक परीक्षा केन्द्रमा १५ जना प्रहरी खटाएर सुरक्षा व्यवस्था कडा पारिएको छ। साथै, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र अन्य कर्मचारीको आवश्यक व्यवस्थापन गरिएको बोर्डले जनाएको छ।
यस वर्ष परीक्षा सम्पन्न भएको बढीमा तीन दिनभित्र उत्तरपुस्तिका परीक्षण गरिसक्ने लक्ष्य राखिएको छ। परीक्षणपछि ‘मार्कस्लिप प्रिन्ट’ गरी डिजिटल प्रणालीमा प्रविष्ट गरेर सिलबन्दी खाममार्फत शिक्षा विकास तथा समन्वय एकाइमा पठाउने व्यवस्था गरिएको छ।
नयाँ व्यवस्थासँगै परीक्षा प्रक्रियालाई थप पारदर्शी बनाउने र नतिजा प्रकाशनलाई छिटो बनाउने अपेक्षा गरिएको छ।