काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशभरका मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश निषेध गर्ने निर्णय गरेको छ। मन्त्रालयले सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउन यस्तो कदम चालेको जनाएको छ ।
बुधबार मन्त्री प्रतिभा रावलको निर्देशनपछि सचिवस्तरीय निर्णयमार्फत सम्बन्धित विभागलाई पत्राचार गर्दै अबदेखि परिचय खुल्ने कागजातका आधारमा मात्रै कार्यालय प्रवेशको व्यवस्था मिलाउन भनिएको हो।
मन्त्रालयका अनुसार विभिन्न बहानामा अनधिकृत व्यक्ति (बिचौलिया) कार्यालयभित्र प्रवेश गरी महत्त्वपूर्ण कागजात तथा स्रेस्तामा पहुँच राख्ने गुनासो बढ्दै गएको थियो। सोही कारण गोप्य तथा संवेदनशील अभिलेखको सुरक्षा चुनौतीपूर्ण बन्दै गएको भन्दै नियन्त्रण कडाइ गरिएको हो।
निर्देशनमा कार्यालयभित्र अनावश्यक भीडभाड, कागजात व्यवस्थापनमा कमजोरी तथा सेवाग्राहीले झन्झट व्यहोर्नु परेको अवस्थालाई सुधार गर्न बिचौलियामाथि रोक लगाइएको उल्लेख छ। अबदेखि सेवाग्राही स्वयंले आवश्यक निवेदन र कागजात पेश गरेर सहज रूपमा सेवा लिन सक्ने मन्त्रालयको विश्वास छ।
मन्त्रालयले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिएको पाइएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै जिम्मेवार ठहर गरिने चेतावनी दिएको छ। साथै, कर्मचारीहरूले अनिवार्य रूपमा परिचयपत्र लगाउनुपर्ने, कार्यालयमा सूचना पाटीमार्फत जानकारी सार्वजनिक गर्नुपर्ने तथा सेवाग्राहीलाई मात्र प्रवेश दिने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिइएको छ।
सचिवस्तरीय निर्णयअनुसार उक्त व्यवस्था कार्यान्वयन भए–नभएको सम्बन्धमा जुनसुकै बेला अनुगमन गरिने र लापरवाही भेटिएमा कारबाही हुने मन्त्रालयले जनाएको छ।