काठमाडौं- अमेरिकी विदेश मन्त्रालयले नेपालको समग्र सुरक्षा अवस्थालाई सुधारोन्मुख ठहर गर्दै नयाँ 'ट्राभल एडभाइजरी' अद्यावधिक गरेको छ।
सन् २०२५ सेप्टेम्बरमा सुरु भएको देशव्यापी प्रदर्शनहरू साम्य भइ सुरक्षा अवस्था स्थिर बनेपछि अमेरिकाले आफ्नो नागरिकका लागि ‘एडभाइजरी’ अपडेट गरेको हो । पछिल्लो विवरणअनुसार नेपाललाई ‘लेभल २ : थप सावधानी अपनाउनु पर्ने’ श्रेणीमा राखिएको छ। जसले अघिल्लो अवस्थाको तुलनामा जोखिमस्तर घटेको संकेत गर्छ।
देशव्यापी प्रदर्शन तथा नागरिक अशान्ति हालका लागि रोकिएको र सुरक्षा स्थिति तुलनात्मक रूपमा स्थिर बनेको उल्लेख गरिएको छ। यद्यपि विशेषगरी सहरी क्षेत्रमा सानातिना प्रदर्शन तथा स्थानीयस्तरका तनाव पुनः देखा पर्न सक्ने सम्भावना कायमै रहेको जनाउँदै पूर्णरूपमा जोखिम अन्त्य भइनसकेको निष्कर्ष निकालिएको छ।
प्रदर्शनहरू बिनाकुनै पूर्वसूचना सुरु हुन सक्ने र केही समयमै हिंसात्मक रूप लिन सक्ने भएकाले अमेरिकी नागरिकलाई भिडभाड तथा प्रदर्शन हुने स्थानबाट टाढा रहन, सुरक्षा निकायको निर्देशन पालना गर्न र आफ्ना गतिविधिमा उच्च सतर्कता अपनाउन सुझाव दिइएको छ।
स्वास्थ्य सेवाको सन्दर्भमा पनि प्रतिवेदनले नेपालको सीमित क्षमतातर्फ ध्यानाकर्षण गराएको छ। काठमाडौंका अस्पताल अन्य स्थानको तुलनामा राम्रो भए पनि अत्यधिक चाप, आवश्यक उपकरण तथा औषधिको अभाव जस्ता समस्या देखिन सक्ने उल्लेख गरिएको छ।
गम्भीर अवस्थामा बिरामीलाई विदेश लैजानुपर्ने अवस्था आउन सक्ने भएकाले ‘मेडिकल इभ्याकुएसन’ समेटिएको यात्रा बीमा अनिवार्यजस्तै गर्न र आवश्यक औषधि साथमै बोक्न सल्लाह दिइएको छ। साथै नेपालमा उपचारअघि नै भुक्तानी गर्नुपर्ने अभ्यासलाई ध्यानमा राख्दै आर्थिक तयारी गर्न पनि सुझाइएको छ।
प्राकृतिक विपत्तिको जोखिम पनि कायमै रहेको भन्दै नेपालमा भूकम्प कुनै पनि बेला आउन सक्ने तथा मनसुन अवधिमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुनुका साथै पूर्वाधारमा क्षति पुग्न सक्ने चेतावनी दिइएको छ। यस्तो अवस्थामा उद्धार तथा राहत कार्यमा समेत कठिनाइ आउन सक्ने भएकाले यात्रा योजना बनाउँदा मौसम तथा भौगोलिक अवस्थाबारे सचेत रहन आग्रह गरिएको छ।