बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा ३७ लाख रुपैयाँ भेटी संकलन

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
बागलुङ कालिका मन्दिरमा चैतेदसैँमा ३७ लाख रुपैयाँ भेटी संकलन

वरात्रको अवधिभर ३७ लाख २५ हजार ५ सय ५५ रुपैयाँ रकम संकलन भएको थियो।

बागलुङ- चैतेदसैँको अवधिभर बागलुङ कालिका भगवती मन्दिरमा ३७ लाख रुपैयाँ भेटी संकलन भएको छ। नवरात्रको अवधिभर ३७ लाख २५ हजार ५ सय ५५ रुपैयाँ रकम संकलन भएको थियो। गत वर्षको तुलनामा यस वर्षको भेटीमा ५ लाख रुपैयाँले कमी आएको हो। गत वर्षको चैतेदसैँमा ४२ लाख भेटी संकलन भएको थियो।

गण्डकी प्रदेशको प्रमुख सक्तिपिठमध्येको एक ऐतिहासिक बागलुङ कालिका मन्दिरमा चैतेदसैँको अवसरमा यसवर्ष आएका ७  लाखभन्दा बढी दर्शनार्थीले उक्त रकम भेटीस्वरूप चढाएको कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र खड्काले जानकारी दिए।

उनका अनुसार नवरात्रको पहिलो दिन चैत ५ गते १ लाख १७ हजार रुपैयाँ, चैत ६ गते १ लाख ५३ हजार रुपैयाँ, चैत ७ गते ४ लाख ३८ हजार रुपैयाँ, चैत ८ गते १ लाख ७० हजार रुपैयाँ, चैत ९ गते १ लाख ७१ हजार रुपैयाँ तथा चैत १० गते ४ लाख ९२ हजार रुपैयाँ संकलन भएको थियो।

यस्तै चैत ११ गते ३ लाख रुपैयाँ, चैतेदसैँको मुख्य दिन चैत १२ गते १० लाख ४४ हजार रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले बताए। नवमीको दिन ४ लाख ८० हजार र दशमीको दिन ३ लाख ५५ हजार ७ सय ३५ रुपैयाँ संकलन भएको छ।

'चैतेदसैँको मुख्य दिनमा सबैभन्दा धेरै भक्तजन र धेरैै भेटी संकलन भएको छ विगतका वर्षाहरूको तुलनामा यो वर्ष ५ लाख रुपैयाँले मात्रै भेटीमा कमी आएको छ, वर्षाको कारणले केही भक्तजनमा कमी आएको थियो,' अध्यक्ष खड्काले भने, 'अष्टमीमा एकै दिन ४ लाखभन्दा बढी भक्तजन आए, ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे पर्‍यो।'

बागलुङ कालिका मन्दिरमा बडादसैँ र चैतेदसैँ अनि शनिबार तथा मंगलबार विशेष पूजा हुन्छ। मन्दिरमा चढाइने अक्षता, बोका तथा कुखुराको टाउकोबाट कमाइ हुने गरेको छ। मन्दिरमा परेवा उडाउनेले तिर्ने शुल्क, विवाह र व्रतबन्ध शुल्क, मन्दिरमा आउने पण्डितले बुझाउने दस्तुरबाट आम्दानी जोडिने गरिएको अध्यक्ष खड्काले बताए।

विसं १५९१ मा पर्वते राजा प्रतापीनारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसँग विवाह गरेका थिए। विवाहमा राजकुमारीले आफूसँगै दाइजोको रूपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थानसम्म ल्याइएको थियो।

राजकुमारी कालिका देवी भएको अनन्य भक्त थिइन्। तिनै कालिका देवीको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो।


प्रकाशित : बुधबार, चैत १८ २०८२१०:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend