बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अहिलेसम्मकै महँगो भयो हवाई इन्धन, भाडा बढ्ने निश्चित

बुधबार, चैत १८ २०८२
अहिलेसम्मकै महँगो भयो हवाई इन्धन, भाडा बढ्ने निश्चित

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले वृद्धि गरेको छ।

काठमाडौं- पश्चिम एसियामा जारी इरान-इजरायल द्वन्द्व को प्रभाव विश्व ऊर्जा बजारमा तीव्र रूपमा देखिँदा नेपालमा पनि यसको प्रत्यक्ष असर परेको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाँदा नेपाल आयल निगम ले हवाई इन्धनको मूल्य झन्डै दोब्बरले वृद्धि गरेको छ।

निगमले मंगलबार गरेको नयाँ मूल्य समायोजनअनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य साविक प्रतिलिटर १२७ रुपैयाँबाट बढाएर २५१ रुपैयाँ कायम गरिएको छ, जुन अहिलेसम्मकै उच्च हो।

यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौं मा हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ९६६ अमेरिकी डलरबाट बढेर १,७८५ डलर पुगेको छ। पोखरा मा ८०१ डलरबाट बढेर १,७३२ डलर पुगेको छ भने भैरहवा मा ७८९ डलरबाट बढेर १,७१६ डलर निर्धारण गरिएको छ।

मूल्य वृद्धिसँगै नेपालमा हवाई इन्धन इतिहासकै महँगो बनेको छ। यसले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान दुबैमा प्रत्यक्ष प्रभाव पार्ने निश्चित भएको छ। विशेषगरी हवाई कम्पनीहरूको सञ्चालन लागत उच्च रूपमा बढ्ने भएकाले यात्रु भाडा पनि उल्लेख्य रूपमा बढ्ने देखिएको छ।

आन्तरिक वायुसेवा कम्पनीहरूले इन्धन मूल्यवृद्धिपछि उत्पन्न अवस्थाबारे छलफल गर्न आजै बैठक बस्दैछन्। बैठकले हवाई भाडा समायोजनको निर्णय गर्ने तयारी गरिएको छ। स्रोतका अनुसार, इन्धनको लागत तीव्र रूपमा बढेकाले भाडामा 'भारी वृद्धि' हुन सक्ने संकेत गरिएको छ।

इन्धन मूल्यवृद्धिको असर यात्रु मात्र नभई कार्गो ढुवानी क्षेत्रमा समेत पर्नेछ। हवाई ढुवानी महँगिँदा आयात–निर्यात लागत बढ्ने र त्यसको प्रभाव उपभोक्ता मूल्यमा समेत देखिन सक्ने अर्थविद्हरू बताउँछन्।

विश्व बजारमा कच्चा तेलको मूल्यमा देखिएको अस्थिरता र  भू–राजनीतिक तनाव दीर्घकालीन रूपमा कायम रहेमा नेपालमा ऊर्जा मूल्यमा थप दबाब पर्ने सम्भावना पनि उत्तिकै रहेको छ।


प्रकाशित : बुधबार, चैत १८ २०८२०६:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend