बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

काठमाडौं महानगरले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १७ २०८२
काठमाडौं महानगरले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्राप्त हुने छन्।

काठमाडौं- काठमाडौं महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने भएको छ।

काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार पहिलो चरणमा नमुनाका रूपमा वडा नं ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सेवा सञ्चालन गर्ने तयारी छ। 'त्यसका लागि काठमाडौं महानगरले चावहिल, डिल्लीबजार र कलंकी मालपोत कार्यालयसँग सहकार्य गर्ने छ,' उनले भनिन्।

यसअघि चार किल्ला सिफारिस, घरबाटो सिफारिस जस्ता सेवा दिँदै आएकामा अब वडाबाट भूमि प्रशासन सेवासमेत सञ्चालन गर्न लागेको हो। भूमिको स्वामित्व तथा हकसम्बन्धी सेवा, लेखापढी, स्रेस्ता तथा अभिलेख व्यवस्थापन, रोक्का तथा फुकुवा सिफारिस, कर तथा राजस्वसम्बन्धी सेवा कार्यक्रम वडाबाटै प्राप्त हुने छन्।

'नागरिक परामर्श तथा गुनासो सहजीकरण, सेवाग्राहीबाट लिनुपर्ने राजस्व वडा कार्यालयबाट लिने व्यवस्था, सेवाग्राहीको पहिचानका सुनिश्चित गर्न बायोमेट्रिक विवरण संकलन गर्ने व्यवस्था, बैंकमा रोक्का राख्ने वा फुकुवा गर्ने प्रक्रियामा सिफारिस र अभिलेख व्यवस्थापन पनि वडाबाटै हुने छ,' कार्यवाहक प्रमुख डंगोलले भनिन्।

काठमाडौं महानगरको ४७ औँ कार्यपालिका बैठकले नमुना कार्यक्रमका रूपमा १० वटा वडाबाट भूप्रशासन सेवा प्रारम्भ गर्ने निर्णय गरेको थियो। सोहीअनुरूप अहिले कार्यान्वयन गर्न लागिएको हो। रासस


प्रकाशित : मंगलबार, चैत १७ २०८२१४:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend