काठमाडौं- एनआईसी एसिया बैंक लिमिटेडले नयाँ वर्ष विक्रम संवत् २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ।
लोपोन्मुख तथा परम्परागत नेपाली लोकबाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आकर्षक साजसज्जामा क्यालेन्डर तयार पारिएको छ।
नयाँ वर्ष २०८३ ले ग्राहक तथा सम्बन्धित सरोकारवालामा नयाँ आशा, भरोसा एवं उमंग प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दै बैंकले नेपाली लोक बाजा संग्रहालयको सहयोगमा क्यालेन्डर सार्वजनिक गरेको हो।
देशका विभिन्न क्षेत्र, समुदाय तथा चाडपर्वमा प्रयोग हुने धार्मिक, सांस्कृतिक, सामाजिक एवं ऐतिहासिक महत्त्व भएका लोकप्रिय तथा लोपोउन्मुख बाजा र बजाउने शैलीसहितका तस्बिर भएको भित्ते तथा टेबल क्यालेन्डर बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।
नेपालका विभिन्न समुदायमा रहेका लोक तथा सांस्कृतिक बाजा हाम्रो संस्कृति, परम्परा, पहिचानका प्रतीकका साथसाथै सांस्कृतिक सम्पदा हुन्। यस कार्यले तिनको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
क्यालेन्डरमा नेपाल सरकारद्वारा प्रकाशित राजपत्रमा उल्लेख भएका बिदा, चाडपर्व, दिवस, पञ्चांग तिथिलगायतका विवरण समावेश गरिएको छ। ग्राहक तथा सरोकारवालाले बैंकको वेबसाइटमार्फत भित्ते तथा टेबल क्यालेन्डर सजिलै डाउनलोड गर्न सक्ने व्यवस्था बैंकले गरेको छ।
