बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

जेनजी आन्दोलन प्रकरण : पूर्वसीडीओ छवि रिजाल पक्राउ

मंगलबार, चैत १७ २०८२
जेनजी आन्दोलन प्रकरण : पूर्वसीडीओ छवि रिजाल पक्राउ

रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए। उनीमाथि गत भदौ २३ र २४ गते भएको आन्दोलनमा अत्यधिक बल प्रयोग गरी दमन गरेको आरोप छ।

काठमाडौं- काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार नियन्त्रणमा लिएको हो।

रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओका रूपमा कार्यरत थिए। उनीमाथि गत भदौ २३ र २४ गते भएको आन्दोलनमा अत्यधिक बल प्रयोग गरी दमन गरेको आरोप छ।

उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे। आन्दोलनपछि विवादमा तानिएका रिजाल एक महिना नपुग्दै सीडीओ पदबाट बाहिरिएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजालसहित अन्य जिम्मेवार पदाधिकारीमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई यसअघि नै पक्राउ गरिसकिएको छ।

आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घुँडाभन्दा तल लक्षित गरी रबरको गोली चलाउन मौखिक निर्देशन दिएको स्वीकार गरेका छन्। तर सिधै गोली चलाउने अन्तिम आदेश भने नदिएको दाबी गरेका छन्।

रिजाल काठमाडौंका सीडीओ हुनुअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। सो अवधिमा कर्मचारी सरुवामा ‘पेशागत आचरण विपरीत काम गरेको’ आरोपसमेत उनीमाथि लागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको विवरणअनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान पनि जारी रहेको छ। अनुसन्धानका क्रममा तत्कालीन गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग सम्बन्धित विवरणसमेत परीक्षणमा रहेको जनाइएको छ।


प्रकाशित : मंगलबार, चैत १७ २०८२०९:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend