काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल उद्योग परिसंघसँग हिजो साँझ भएको भेटघाटमा उनले बलियो सरकार गठन भएसँगै देशमा राजनीतिक स्थिरता कायम भएको र अबको प्राथमिकता आर्थिक समृद्धि हासिल गर्नु रहेको बताए।
उनले जनतामा सरकारप्रति ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै यो अवसरलाई देशको उन्नतिका लागि प्रयोग गरिने स्पष्ट पारे। 'निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता अब प्राप्त भएको छ, अब आर्थिक विकासमा केन्द्रित हुनुपर्छ,' उनले भने।
अर्थमन्त्री वाग्लेले आगामी बजेटमार्फत फरक ढंगले निजी क्षेत्रलाई सम्बोधन गरिने जानकारी दिँदै सरकार निजी क्षेत्रप्रति उदार र सहयोगी रहेको सन्देश सुरुदेखि नै दिन खोजिएको बताए। 'सरकार गठनको पहिलो दिनमै १५ वटा कानुन खारेज गरेर निजी क्षेत्रप्रति हाम्रो प्रतिबद्धता देखाइसकेका छौं,' उनले भने।
उनले उदार अर्थतन्त्रलाई प्रोत्साहन गरिने तर त्यसको नाममा अव्यवस्थित गतिविधि सह्य नहुने स्पष्ट पार्दै आवश्यक नियमन भने जारी रहने बताए। 'इमानदारीपूर्वक उद्योग-व्यापार गर्नुस्, सरकार तपाईंहरूलाई दिल खोलेर सहयोग गर्छ,' उनले भने।
भेटमा नमूना औद्योगिक पार्क स्थापना र सञ्चालनका विषयमा पनि छलफल भएको थियो। अर्थमन्त्री वाग्लेले ठूला तथा बहुराष्ट्रिय कम्पनीको लगानी भित्र्याएर लगानीमैत्री वातावरण बनाउन निजी क्षेत्रलाई पहल गर्न आग्रह गरे। यसका लागि सरकारले आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउने उनले बताए।
स्वदेशी तथा विदेशी लगानीको सुरक्षामा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले निजी क्षेत्रलाई लगानी विस्तारमा उत्साहित हुन आग्रह गरे। साथै विदेशी लगानी आकर्षित गर्ने वातावरण निर्माणमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको पनि उनले जोड दिए।