काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतविहीन रहेका स्थानीय तहमा उपसचिव वा सो सरहका ६३ जना कर्मचारी खटाएको छ।
मन्त्रालयले सोमबार निर्णय गर्दै लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका स्थानीय तह तथा जिल्ला समन्वय समितिहरूमा ती कर्मचारीलाई खटाइएको जनाएको छ।
खटाइएका कर्मचारीमध्ये केहीलाई नियमित सरुवा गरिएको छ भने अधिकांशलाई स्थानीय तहमा कामकाज सञ्चालनका लागि अस्थायी रूपमा खटाइएको मन्त्रालयले स्पष्ट पारेको छ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत अभाव हुँदा सेवा प्रवाह प्रभावित हुँदै आएको सन्दर्भमा मन्त्रालयले उक्त कदम चालेको बताइएको छ।