काठमाडौं- धितोपत्रसम्बन्धी ऐनविपरीत कसुर गरेको भन्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोमबार उनलाई पक्राउ गरेको हो।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्याललाई पक्राउ गरेको सीआईबीले जनाएको छ।
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सोही कम्पनीमा कार्यरत कर्मचारीहरुलाई छुट्याएको सेयर बाँडफाँट सम्बन्धमा नियमनकारी निकायले माग गरेको विवरण/कागजात पेस गर्दा उक्त कम्पनीबाट प्राप्त सक्कल आवेदन फाराम र सोको प्रतिलिपिहरूको विवरण फरकफरक निकायमा पेस गर्दा फरकफरक देखिएको आधारमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०० विपरित कसुर गरेको देखिन आएको सीआईबीले जनाएको छ।