काठमाडौं- विभिन्न सुन तस्करी प्रकरणमा विगतमा रोकिएका अनुसन्धान फाइलहरू पुनः अगाडि बढ्ने भएको छ।
गृहमन्त्री सुधन गुरुङले ठूलो परिमाणमा भएको सुन तस्करीसँग सम्बन्धित विगतका सबै फाइलहरू अगाडि बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।
विगतमा राजनीतिक संरक्षण र दबाबका कारण अनेकौँ चरणमा अनुसन्धान रोकिँदै आएको छ। सरकारी तथ्यांकअनुसार पछिल्लो एक दशकमा ६ सय ६० किलो अवैध सुन बरामद भएको छ।
तत्कालीन माओवादी नेता कृष्णबहादुर महरा सुन काण्डमा पटक-पटक पक्राउ परेका थिए। उनी ६१ किलो सुन र भेपमार्फत भित्र्याइएको ९ किलो सुन प्रकरणमा पक्राउ परेका थिए। महरासँगै उनका छोरा राहुल पनि यसअघि पक्राउ परेका थिए। तर पनि अनुसन्धानमा खास विषय भने बाहिर आउन सकेको छैन।
अनुसन्धानमा संलग्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले महराले चिनियाँ सुन तस्करसँग पटक-पटक सम्पर्क गरेको देखाएको जनाएको थियो।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा दिपेश पुन र अर्का छोरा जितेन्द्र पनि यस प्रकरणमा संलग्न रहेको आशंका गरिएको छ। सुन तस्करीमा एमाले र कांग्रेसका विभिन्न नेताहरू पनि संग्लन रहेको आशंका गरिँदै आएको छ।