नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
गैँडाकोट नगरपालिका-९ हनुमान मन्दिर नजिक आज बिहान नेपालगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको लुप्र०१-००१ख ०९१० नम्बरको बसले गैँडाकोटबाट भेडाबारीतर्फ जाँदै गरेको बाप्र०१-०२८च ५००४ नम्बरको पिकअप भ्यान र सोही दिशातर्फ जाँदै गरेको बा३ख ३१६३ नम्बरको ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
दुर्घटनामा ट्रक चालक रामेछाप खाँडादेवी गाउँपालिका-४ निवासी ३२ वर्षीय इन्द्र तामाङ, पिकअप चालक चितवन भरतपुर महानगरपालिका-१२ निवासी ३३ वर्षीय दर्शन काप्री र बस चालक बाँके नेपालगञ्ज उपमहानगरपालिका-२० निवासी ४१ वर्षीय मोहनसिंह बलामी मगर घाइते भएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।
त्यसैगरी बसमा सवार अन्य नौ जना यात्रु पनि सामान्य घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि चितवन लगिएको छ। हाल यातायात सञ्चालन सामान्य अवस्थामा आएको प्रहरीले जनाएको छ।