काठमाडौं- लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ परेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सोमबार काठमाडौंको धुम्बाराहीबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार शर्मामाथि एक नाबालिकालाई घरमा राखेर बालश्रम गराएको तथा दुर्व्यवहार गरेको आरोप लागेको छ। यसअघि जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा नचलाउने रायसहित तयार गरेको फाइल उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ताको कार्यालयसम्म पुगेको थियो।
घटनाको प्रारम्भिक जानकारी अनुसार, काठमाडौं महानगरपालिकामा प्रशिक्षार्थी रहेका विद्यार्थीहरूले सामुदायिक विद्यालयमा अध्ययनरत अभिभावकविहीन बालबालिकाको अवस्थाबारे सर्वेक्षण गर्ने क्रममा उक्त नाबालिकाको अवस्था सार्वजनिक भएको थियो। सर्वेक्षणका क्रममा बालिकाले आफूलाई लामो समयदेखि काममा लगाइएको र श्रमशोषण भएको खुलाएकी थिइन्।
करिब ६ वर्षदेखि सांसद शर्माको घरमा बस्दै आएकी ती नाबालिकाले घरधनी परिवारबाट कुटपिट हुने गरेको, घरायसी काम-पोछा लगाउने, खाना बनाउने, बिरुवामा पानी हाल्ने-लगायत काम गर्नुपरेको र परिवारसँग सम्पर्कविहीन बनाइएको बताएकी थिइन्। उनले दशैंजस्ता चाडपर्वमा समेत घर जान नपाएको गुनासो गरेकी थिइन्।
बालिकाको अवस्था दयनीय भेटिएपछि काठमाडौं महानगरपालिकाको कार्यदलले तत्काल उद्धार गरी संरक्षण गृहमा राखेको थियो। उद्धारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि तथा नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारेको थियो।
सर्वेक्षणका कागजात परीक्षणका क्रममा इजलासले बालिकासँग गोप्य रूपमा समेत बयान लिएको थियो। बयानका क्रममा यातनासमेत दिइएको पुष्टि भएपछि महानगरपालिकाले सांसद शर्माविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।
उता, छोरीको उद्धार भएपछि बालिकाका बाबुले काठमाडौं आएर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।