काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आम नागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना बनाउन र विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति एवं उपकरण तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।
गृहमन्त्री गुरुङले नागरिकलाई समस्या परेका बेला राज्यले जुनसुकै साधन स्रोत परिचालन गर्न हिच्किचाउन नहुने बताए।
गृहमन्त्री गुरुङले भने, 'नागरिकको जीवन बचाउनु राज्यको सबैभन्दा महत्वपूर्ण दायित्व हो। त्यसैले जुनसुकै विपद्का लागि तयारी अवस्थामा रहन आवश्यक छ।'
प्राधिकरणले गरिरहेका कार्यहरुको जानकारी लिएपश्चात् गृहमन्त्री गुरुङले विद्यालय तथा कलेजका पाठ्यक्रमहरुमा विपदसम्बन्धी विषयवस्तु राखिनुपर्ने र विद्यार्थीहरुलाई विपद्सम्बन्धी आधारभूत तालिम दिनुपर्नेमा पनि जोड दिए।
प्राधिकरणका प्रमुख कार्यकारी दिनेशप्रसाद भट्टले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि हाल सम्पादन भइरहेका कार्यहरु, आगामी प्राथमिकता एवं चुनौतीहरुका बारेमा प्रस्तुतीकरण गरेका थिए।