काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार साउदी अरबका क्राउन प्रिन्स तथा प्रधानमन्त्री एचआरएच प्रिन्स मोहम्मद बिन सलमानसँग पश्चिम एसियामा जारी द्वन्द्वबारे टेलिफोन मार्फत छलफल गरेका छन्।
प्रधानमन्त्री मोदीले क्षेत्रीय ऊर्जा पूर्वाधारमाथि भएका आक्रमणप्रति भारतको कडा निन्दा दोहोर्याएका छन्। दुवै नेताले सागरमार्गको स्वतन्त्रता सुनिश्चित गर्ने र समुद्री मार्ग खुला तथा सुरक्षित राख्ने आवश्यकतामा सहमति जनाएका छन्।
प्रधानमन्त्री मोदीले साउदी क्राउन प्रिन्सको साउदी अरबमा बसोबासरत भारतीय समुदायको कल्याणमा निरन्तर समर्थनका लागि धन्यवाद पनि व्यक्त गरेका छन्।
यो पश्चिम एसियाको द्वन्द्व सुरु भएदेखि प्रधानमन्त्री मोदी र साउदीका क्राउन प्रिन्सबीच भएको दोस्रो टेलिफोनि संवाद हो।
सन् २०२६ फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण गर्दा इरानले आफ्ना छिमेकी र इजरायलमाथि प्रतिक्रियास्वरूप हमला गरेको थियो। इरानले स्ट्रेट अफ हर्मुज नियन्त्रणमा राखेको छ, जसमार्फत विश्वको २० प्रतिशत ऊर्जा ढुवानी हुन्छ। द्वन्द्व सुरु भएदेखि इरानले यो मार्गबाट अत्यन्त सीमित मात्रामा जहाजहरूलाई पार गर्न अनुमति दिएको छ।
प्रधानमन्त्री मोदीले यो द्वन्द्व सुरु भएदेखि संयुक्त अरब इमिरेट्स, कतर, बहराइन, कुवेत, जोर्डन, इरान, फ्रान्स, इजरायल र मलेसियाका नेतासँग पनि छलफल गरिसकेका छन्।