काठमाडौं- अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफस्वरूप इरानले बहराइनस्थित विश्वकै ठूलो आल्मुनियम स्मेल्टर कारखानामा आक्रमण गरेको जनाएको छ।
शनिबार इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले जारी गरेको वक्तव्यअनुसार उक्त आक्रमण अमेरिका-इजरायल गठबन्धनलाई सहयोग गरेको आरोपमा गरिएको हो। आक्रमणबाट कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी रहेको र हाल छानबिन भइरहेको जनाइएको छ।
इरानले आफ्ना दुईवटा स्टिल प्लान्टमा अमेरिका र इजरायलबाट भएको आक्रमणको प्रतिशोधस्वरूप बहराइन र संयुक्त अरब इमिरेट्सस्थित उद्योगहरूलाई लक्ष्य गरेको स्पष्ट पारेको छ। आईआरजीसीका अनुसार बहराइनको आल्मुनियम स्मेल्टर कारखानामा अल्वासँगै यूएईको इमिरेट्स ग्लोबल आल्मुनियम पनि निशानामा परेको थियो।
यूएईस्थित इमिरेट्स ग्लोबल आल्मुनियमले आक्रमणका कारण आफ्ना प्लान्टमा गम्भीर क्षति पुगेको पुष्टि गरेको छ।
यस घटनाले विश्वव्यापी आल्मुनियम आपूर्ति शृंखलामा असर पर्ने देखिएको छ। किनकि विभिन्न देशहरूले बहराइनको उक्त स्मेल्टरबाट प्रशोधित आल्मुनियम तथा अन्य धातुमा निर्भरता राख्दै आएका छन्।
अमेरिका-इजरायल र इरानबीच तनाव बढ्दै युद्धको अवस्था सिर्जना भएपछि कम्पनीले आफ्ना केही उत्पादन इकाइहरू बन्द गरेको जनाएको छ। विशेषगरी स्ट्रेट अफ होर्मुज क्षेत्रमा अवरोध भएपछि कच्चा पदार्थ आपूर्तिमा समस्या देखिएकाले उत्पादन प्रभावित भएको बताइएको छ।
स्मेल्टर कारखाना खानीबाट निकालिएको कच्चा खनिजलाई पगालेर वा रासायनिक प्रक्रियामार्फत शुद्ध धातु (जस्तै आल्मुनियम, फलाम, तामा, सुन आदि) उत्पादन गर्ने उद्योग हो। बहराइनस्थित आल्मुनियम स्मेल्टर विश्वकै ठूलो आल्मुनियम स्मेल्टरका रूपमा चिनिन्छ भने चीन, क्यानाडा र अष्ट्रेलियामा पनि ठूला स्मेल्टर उद्योगहरू सञ्चालनमा छन्।