चितवन- कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुवात गरेको छ।
नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको जानकारी दिए। निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो।
निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो। निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पुर्याइएको थियो।
नगरपालिकाले म्याद थप नगरी जरिवाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषदबाट गरेको छ। नगरपालिकाले निर्माण कम्पनीसँग एक करोड १६ लाख जरिवाना गरेको छ। प्रमुख रेग्मीका अनुसार ११ करोड ५६ लाखको लागतमा आधुनिक नयाँ भवन निर्माण गरिएको हो।
विसं २०७२ असोज १ गते स्थापना भएको नगरपालिकाले १० वर्षपछि आफ्नै भवनबाट सेवा सुरुवात गरेको हो। नयाँ भवन आधुनिक सुविधासम्पन्न रहेको छ।
भवनमा सभाहल, नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको सचिवालयसहित कार्यकक्ष तयार गरिएको छ। साथै आर्थिक, स्वास्थ्य, कृषि तथा पशुसेवा, सामाजिकलगायत सबै शाखाले यही भवनमार्फत सेवा प्रदान गर्नेछन्।
साविकको जुटपानी, पदमपुर, शक्तिखोर र सिद्धि गाउँविकास समिति समायोजन गरी यस नगरपालिका बनाइएको हो। यस नगरपालिकाको जनसंख्या ५२ हजारभन्दा बढी रहेको छ। यहाँ ब्राह्मण, चेपाङ, तामाङ, थारु, क्षेत्रीलगायत विभिन्न जातजाति र समुदायको मिश्रित बसोबास छ।
नगरपालिकाले आफ्नै प्रशासनिक भवनबाट सेवा दिएसँगै नगरवासीलाई सेवा लिन र कर्मचारीलाई काम गर्न सहज भएको नगर प्रमुख रेग्मीले बताए। रासस