काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ का अध्यक्ष चन्द्र प्रसाद ढकाल ले मन्त्रिपरिषद् बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीले मुलुकको शासन प्रणालीलाई परिणाममुखी, पारदर्शी र उत्तरदायी बनाउने विश्वास व्यक्त गरेका छन्।
ढकालले उक्त कार्यसूचीले निजी क्षेत्रसँगको सहकार्यमा लगानीमैत्री वातावरण निर्माण गर्दै रोजगारी र राजस्व वृद्धि मार्फत देशलाई आर्थिक विकास तथा समृद्धिको दिशामा अघि बढाउन महत्वपूर्ण आधार तयार गरेको बताएका छन्।
उनका अनुसार सेवा प्रवाहलाई डिजिटल, सहज र समयबद्ध बनाउने, प्रशासनिक सुधार, भ्रष्टाचार नियन्त्रण, लगानीमैत्री वातावरण निर्माण, निजी क्षेत्रको संरक्षण तथा प्रवर्द्धन तथा उद्यमशीलता विकासजस्ता विषयहरू कार्यसूचीमा समेटिनु सकारात्मक कदम हो।
महासंघले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरू कार्यसूचीमा समावेश हुनु उत्साहजनक भएको उल्लेख गर्दै उनले यस सुधार एजेण्डालाई स्वागत गरेको जनाएका छन्। प्रभावकारी कार्यान्वयन हुन सके आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना तथा दिगो विकासमा ठोस योगदान पुग्ने विश्वास समेत उनले व्यक्त गरेका छन्।
ढकालले यस पहललाई सफल बनाउन सरकार र निजी क्षेत्रबीच अझ सशक्त सहकार्य आवश्यक रहेको उल्लेख गर्दै महासंघ त्यसका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।