काठमाडौं- भारत सरकारले दयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी अन्तर्राष्ट्रय विमानस्थलको विकल्पका रुपमा निर्माण थालेको नोयडामा नयाँ अन्तर्राष्ट्रि विमानस्थनको पहिलो फेज उद्घाटन गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जेवरमा बनेको नोयडा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको उद्घाटन गरेका हुन्।
यससँगै भारतको राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर)ले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पाएको छ। यो हालका वर्षहरूमा भारतकै सबैभन्दा महत्त्वपूर्ण 'ग्रीनफिल्ड' उड्डयन परियोजनाहरूमध्ये एक भएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्।
विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले यो विमानस्थल उत्तर भारतको लजिस्टिक गेटवे बन्न गइरहेको बताएका छन्। उद्घाटन समारोहमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसलाई राज्यको विकासका लागि 'लन्चप्याड' को संज्ञा दिए।
यस विमानस्थलको पहिलो चरणको निर्माण करिब १३ सय ३४ हेक्टर जमिनमा भएको हो। त्यस्तै पहिलो चरणको निर्माणमा कुल १ खर्ब १२ अर्ब ८२ करोड भारु लगानी गरिएको छ। यसमध्ये ६८ अर्ब ७६ करोड निजी साझेदार र ४४ अर्ब ६ करोड राज्य सरकारले जग्गा प्राप्तिका लागि खर्च गरेका छन्।
चार चरणमा सम्पन्न हुने यस परियोजनाको कुल अनुमानित लागत २ अर्ब ९५ अर्ब ६० करोड भारु रहेको छ। यसको विकास र सञ्चालन यमुना इन्टरनेशनल एयरपोर्ट प्रालिले गरिरहेको छ। यो कम्पनी स्वीजरल्यान्डको ज्युरिच एयरपोर्ट इन्टरनेशनल एजीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो।
प्रधानमन्त्री मोदीले कार्गो टर्मिनलको उद्घाटन गर्नुका साथै विमान मर्मतसम्भारका लागि ४० एकडमा फैलिने एमआरओ केन्द्रको शिलान्यास समेत गरेका हुन्। डीएक्सएन कोड पाएको यो विमानस्थलले दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको पूरकका रूपमा काम गर्नेछ।
पहिलो चरणमा नोउडा विमानस्थलले वार्षिक १ करोड २० लाख यात्रुलाई सेवा दिनेछ। भविष्यमा यसलाई वढाएर वार्षिक ७ करोड यात्रु धान्न सक्ने गरी विस्तार गरिनेछ। चोथो चरणको निर्माण सकिँदा नोयडा इन्टरनेसनल एयरपोर्टले सो क्षमतामा यात्रु ह्यान्डल गर्न सक्नेछ।
इन्डिगोले यस विमानस्थलको 'लन्च क्यारियर' हुनेछ। साथै आकासा एयर र एयर इन्डिया एक्सप्रेसले पनि यहाँबाट मुम्बई, बेंगलुरु, हैदरावाद, चेन्नई, लखनऊ र देहरादुनका लागि उडान भर्ने तय भएको द इकोनोमिक टाइम्सले लेखेको छ।
उद्घाटन भए पनि व्यावसायिक उडानहरू सम्भवतः आगामी मे महिनादेखि मात्र सुरु हुनेछन्। उडान हुनका पूरा गर्नुपर्ने दुईवटा प्रक्रिया सुरक्षा प्रमाणीकरण र भाडा निर्धारण बाँकी रहेको छ। सुरक्षा प्रणालीका लागि ब्युरो अफ सिभिल एभिएसन सेक्युरिटी बाट एयरोड्रोम सुरक्षा कार्यक्रमको स्वीकृति पाउन बाँकी छ। यो पाएको ३० देखि ३५ दिनभित्र उडान सुरु हुन सक्छ।
भाडा निर्धारणका लागि एयरपोर्ट इकोनोमिक रेगुलेटरी अथोरिटीले विमानस्थलको शुल्क फाइनल गर्न बाँकी छ, जसका लागि अप्रिल १७ सम्म सुझाव मागिएको छ। यो प्रक्रिया सकिएपछि मात्र एयरलाइन्सले टिकट बुकिङ खुल्ला गर्नेछन्।
यात्रुहरूको अनुभवलाई उत्कृष्ट बनाउन 'रोजेट होटल्स' ले विमानस्थल होटल सञ्चालन गर्नेछ भने 'ताज स्याट्स'ले इन-फ्लाइट खानाको व्यवस्था गर्नेछ। ब्यागेज ह्यान्डलिंगका लागि सिमेन्सको आधुनिक प्रणाली र प्रविधिका लागि सिटा र टेक महिन्द्रा जस्ता कम्पनीहरूसँग साझेदारी गरिएको छ।
२०२१ नोभेम्बरमा भारतीय प्रधानमन्त्री मोदीले यो परियोजनाको शिलान्यास गरेका थिए। शिलान्यासपछि प्रारम्भिक तयारीहरू भए पनि मुख्य सिभिल निर्माण कार्य भने जुन २०२२ बाट सुरु भएको थियो। टाटा प्रोजेक्ट्स लिमिटेडले यसको निर्माणको ठेक्का पाएपछि कामले गति लिएको थियो।
पहिलो चरणको काम सम्पन्न हुन करिब ४ वर्ष लागेको छ। बीचमा कोभिड-१९ महामारी र अन्य प्राविधिक कारणले गर्दा निर्माण कार्यमा केही ढिलाइ भएको थियो, जसका कारण पहिले सन् २०२४ को सेप्टेम्बरका लागि तय गरिएको समय सीमा सरेर सन् २०२६ मार्चसम्म पुगेको हो।