अत्तरिया-कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीकी मनिषा चौधरीले कृषि कर्मबाट सुरु गरेको दुई वर्ष भयो। व्यावसायिक रुपमा तरकारीखेती तथा बङ्गुरपालन गर्दै आउनुभएकी चौधरी यसैमा रमाइरहेकी छन्।
एक बिघा जग्गा भाडामा लिएर व्यावसायिक तरकारीखेती र बङ्गुरपालन सुरु गरेका उनले अहिले तरकारी बिक्रीबाट मात्रै वार्षिक चार लाखसम्म आम्दानी गरिरहेकी छन्।
सिजनअनुसारका तरकारी लगाउने गरेको तथा बाह्रै महिना तरकारी उत्पादन गर्ने गरेको उनले जानकारी दिए। उनले भने, 'तरकारीबाट दैनिक आम्दानी पनि हुन्छ। हाल दैनिक एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री हुन्छ।'
उनले तरकारी बजारमा सहजै बिक्री हुने तथा बारीबाटै पनि बिक्री हुने बताउँछन्। चौधरीले पछिल्लो समय बङ्गुरपालनबाट पनि राम्रै आम्दानी हुन थालेको बताउँछन।
उनले ठूला बङ्गुर तथा पाठापाठी बिक्रीबाट वार्षिक रु तीन लाखसम्म आम्दानी गरिरहेकी छन्। उनले भने, 'दुई वर्षअघि एउटा बङ्गुरबाट व्यवसाय सुरु गरेकी थिए। अहिले बङ्गुर बढ्दै गएका छन्। अहिले खोरमा माउ र भाले गरी १९ वटा ठूला बङ्गुर तथा ३० वटा पाठापाठी छन्।'
उनका अनुसार प्रतिपाठापाठी पाँच हजारदेखि छ हजारका दरले बिक्री हुन्छन्। ठूला बङ्गुर प्रतिकिलो ३२० का दरले बिक्री हुन्छन्। उनले डिउरो, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गर्दै आएको बताउँछन। उनको सात जनाको परिवार छ। यसैबाट भएको आम्दानीले सबै घरखर्च चलेको उनले सुनाए। रासस