काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। प्रहरीले ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट तथा लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पक्राउपछि लेखकलाई प्रहरी परिसर भद्रकाली ल्याइएको छ भने ओलीलाई पनि नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया अघि बढाइएको छ। प्रहरी टोली रातिदेखि नै ओली निवास वरपर परिचालन गरिएको थियो।
भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको मृत्यु भएको घटनामा संलग्नताको आरोपमा अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो घटनासम्बन्धी मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्ने’ कसुरमा अनुसन्धान भइरहेको छ। उक्त दफाअनुसार दोषी ठहर भए अधिकतम तीन वर्ष कैद र जरिवानाको व्यवस्था छ। तीन दिनअघि सार्वजनिक जाँचबुझ आयोग को प्रतिवेदनले ओली, लेखकसहित तत्कालीन सुरक्षा निकायका उच्च अधिकारीहरूमाथि पनि जिम्मेवारी औंल्याएको थियो र सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको हो।
नवनियुक्त प्रधानमन्त्री बालेन शाह ले शपथ लगत्तै बसेको मन्त्रिपरिषद् बैठकबाट आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेका थिए। त्यसपछि गृहमन्त्री सुदन गुरुङ ले प्रहरीलाई अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए। कानुनी प्रक्रिया पूरा गर्न आवश्यक कागजात तयार पार्ने काममा कानुन मन्त्रालयका अधिकारीहरू रातभर खटिएको स्रोतको भनाइ छ।
कानुनविद्हरूका अनुसार जाँचबुझ आयोगको प्रतिवेदन मात्रका आधारमा पक्राउ गर्न नपाइने भए पनि त्यसले प्रारम्भिक प्रमाणको आधार भने तयार पार्न सक्छ। पक्राउपछि आरोपितलाई पक्राउ पुर्जी प्रदान गर्नुपर्ने, स्वास्थ्य परीक्षण गराउनुपर्ने र २४ घण्टाभित्र सम्बन्धित अदालत जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउनुपर्ने कानुनी प्रावधान छ।
नेपालको सन्दर्भमा कार्यकारी प्रमुख रहिसकेको व्यक्तिलाई ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ गरिएको यो पहिलो घटना भएको दाबी गरिएको छ। यसअघि राजनीतिक आन्दोलनका क्रममा पूर्वप्रधानमन्त्रीहरू हिरासतमा बसेका उदाहरण भए पनि ज्यानमुद्दामा अनुसन्धानका लागि पक्राउ परेको घटना दुर्लभ मानिएको छ।