बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

अर्थमन्त्री स्वर्णिम वाग्ले भन्छन् - विराट लक्ष्य लिएर आएको छु, साथ दिनुहोस्

'आजै जनताको हितमा हुने सयौँ निर्णय गरिने'

शुक्रबार, चैत १३ २०८२
अर्थमन्त्री स्वर्णिम वाग्ले भन्छन् - विराट लक्ष्य लिएर आएको छु, साथ दिनुहोस्

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने काम पनि हुने उनले बताएका छन्।

काठमाडौं- नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेसँगै आफू विराट लक्ष्य लिएर आएको हुँदा साथ दिनका लागि सबैसँग आग्रह गरेका छन्। 

'म एक थान मन्त्री खान आएको हाेइन, विराट लक्ष्य लिएर आएको छु साथ दिनुहोस्' अर्थ मन्त्रालयमा उनले भने। अर्थमन्त्री वाग्लेले आफू राजनीतिक पूर्वाग्रह नराख्नेसमेत बताए। 'पुराना राजनीतिक र दलीयकरणकाे छायाबाट टाढा रहनुहाेस्। म मेरिट हेर्छु, इमान्दारी हेर्छु' उनले भने।  

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरेसँगै उनले सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन्।

'अर्थराजनीतिक महत्त्वपूर्ण जनादेशसहित हामी आएका छाैँ। नियमित प्रक्रियाबाट हुँदैन हामी क्रमभंगता गर्न आएका हाैँ। म कर्मचारीहरुलाई गाली गर्न वा आलाेचना गर्न आएको हाेइन। हामी राजनीति गर्ने मान्छे असल भएपछि तपाईंहरुलाई पनि केही फरक पर्दैन। माछा बिग्रिए टाउकोबाट बिग्रन्छ भन्छन् हामी ठीक भए पछि तपाईंहरु पक्कै गलत गर्न सक्नुहुन्न' उनले भने। 

'सुशासन र जनताकाे हितमा काम गर्नका लागि कुनै सम्झौता हुँदैन। राम्रो काम गर्नेलाई सधैँ साथ र माया पाउनुहुन्छ तर मुलुकमा हामीले चाहेकाे ट्र्याकमा हुनुहुन्न र गलत बाटाेमा हुनुहुन्छ भने म माया गर्न सक्दिनँ। राम्रो हुनुहुन्छ भने तपाईंहरु मेराे साथी हाे' उनले भने।

उनले अर्थतन्त्रको अहिलेसम्मको अवस्थाबारे श्वेतपत्र  तयार पार्नका लागि काम सुरु भइसकेको बताए। त्यसका लागि टिम तयार भएको र पाँच दिनभित्र रिपोर्ट दिने उनले जानकारी दिए। 

२०८२ चैत्र १२ गतेसम्मको 'आर्थिक स्थितिपत्र' तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने काम सुरु भएको हो। 

यस्तै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेज गर्ने काम पनि हुने उनले बताएका छन्।

निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत आर्थिक-कानूनी सुधारको मार्गचित्र बनाउने काममा पनि अर्थमन्त्री वाग्ले लाग्ने छन्। 

अर्थमन्त्री वाग्लेले आजै जनताको हितमा हुने सयौँ निर्णयहरु गर्नेसमेत बताए। बरालिएकाे आर्थिक पुनर्संरचना अब ट्रयाकमा ल्याउने समेत उनले बताए।

'लाेकसेवा पास गर्दा लेखेकाे निबन्ध सम्झिनुहाेला देश कसरी बनाउने भन्नुभएको थियो? अब कुनै पनि तरिकाले क्याप्चर गरेर गरिने घुस खाने वा खुवाउने समय अब सकियाे' उनले भने। 

'अहिले त जनताले विगतकाे विसंगतिलाई चिर्न भनेर बहुमतमात्रै हाेइन दुईतिहाइ बहुमत दिएका छन्। हामी यसैमा टेकेर रिफर्म गर्न आएका हाैँ' उनले भने, 'आर्थिक राजकाजकाे रुपान्तरण आगामी बजेटबाट हुन्छ। तपाईंहरुकाे याेजना र क्षमता प्रयाेग गर्नुहाेस्।' 

'सुशासन, आर्थिक रुपान्तरण, दीर्घकालीन याेजना र रुपान्तरणकारी आयाेजनाका कामलाई हस्तक्षेपकारी काम गरिनेछ, नेपाली अर्थतन्त्रसँग डायस्पाेरालाई जाेड्ने हाे। एकपटकका नेपाली सधैँको नेपाली भनेर हामी उहाँहरुकाे लगानी र सम्पत्ति सुरक्षा गर्ने हाे। त्यसपछि विदेशी लगानी आउँछन्' उनले भने।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend