बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

कृषिमन्त्री गीतालाई बुवा जयरामको सन्देश - ‘जनता खुसी पार्ने काम गर्नू’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत १३ २०८२
कृषिमन्त्री गीतालाई बुवा जयरामको सन्देश - ‘जनता खुसी पार्ने काम गर्नू’

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्।

महेन्द्रनगर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बनेपछि बुवा जयराम डगौराले जनताको हितमा काम गर्न सुझाएका छन्।

'छोरी मन्त्री बनेको खबरले हाम्रो परिवारमा खुसी छाएको छ' गीताका बुवा जयरामले भने, 'सिंगो देशका जनता खुसी हुने गरी छोरीले पाएको जिम्मेवारी बहन गर्न सकोस्।'

राष्ट्रिय स्वतन्त्र पार्टीबाट कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा समानुपातिक सांसद बनेकी गीता यहाँबाट चौधरी समुदायबाट संघीय सरकारको मन्त्री बन्ने पहिलो थारु महिला हुन्।

शुक्लाफाँटा नगरपालिका-३ स्थित जनज्योति आधारभूत विद्यालय जोनापुरमा प्रावि तहको अध्ययन गरेकी चौधरीले माध्यमिक तहको अध्ययन राष्ट्रिय मावि पिपलाडीबाट गरेकी थिइन्। झलारी बजारमा रहेको श्रीकृष्ण उच्च माविबाट प्रवीणता प्रमाणपत्र तह अध्ययन गरेकी उनले काठमाडौं स्कुल एफ लबाट स्नातक र स्नाकोत्तर तह नेपाल ल क्याम्पसबाट पूरा गरेकी हुन्। चौधरी कानून व्यवसायीसमेत हुन्।

'सात बहिनी र एक भाइमध्येकी माहिली गीता बाल्यकालदेखि नै अध्ययन र समाजका हुने विभेद् र कुरुतिकाविरुद्ध बोल्थिन्' बुवा जयरामले भने 'हामी निम्म आयस्रोत भएको परिवारबाट मन्त्री बनेको खबरले हर्षित छौँ।' साधारण लेखपढ गरेका गीताका बुवा जयरामले छोराछोरी पढाउन निकै संघर्ष गरेको बताए।

'खेती किसानी र पछिल्लो समय सटरिङको काम गरेर घरखर्च र छोराछोरीको खर्च जुटाउँदै आएको छु', उनले भने छोरीको मेहनत र अध्ययन सफलताले यहाँसम्मको सफलता मिलेको हो।'

त्यसैगरी मन्त्री गीताका फूपाजु डम्बर चौधरीले अध्ययनका लागि निकै दुखः गरेको बताए। 'पढाइका लागि ऋण गरेर भए पनि पछि नहट्ने बानी थियो', उनले भने, 'विवाहपछि अध्ययनसँगै र राजनीतिमा होमिएर यो स्थान बनाइन् ।'

बुटवलको सैनामैनाका सुनिल चौधरीसित विवाह गरेकी गीताका एक छोरी छिन्। गीताका श्रीमान् सुनिल कृषि क्याम्पसमा अध्यापन गर्छन्। विभिन्न क्लब, बाल क्लब र संस्थामा आवद्ध हुन मन पराउने चौधरी करातेको समेत खेलाडी हुन्। चौधरीले भने, 'घरको दयनीय अवस्थाकाबीच पनि गीताले गरेको संघर्ष प्रेरणादायी छ।'

राजनीतिक रूपमा उनी २०६२-०६३ को आन्दोलपछि जोडिएकी हुन्। तत्कालीन समयमा उनी नेकपा एमालेमा आबद्ध थिएन्। अनेरास्ववियुबाट उनको राजनीतिक यात्रा आरम्भ भएको हो।

यसअघि नागरिक उन्मुक्ति पार्टीबाट २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा गीता सुदूरपश्चिम प्रदेशसभा सदस्यमा उम्मेदवार बनेकी थिइन्। केही समयअघि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी चौधरीलाई अहिले रास्वपाले समानुपातिक उम्मेदवार बनाएको थियो। रासस


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१४:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend