बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

पर्यटनमन्त्री खड्कराज : विघटनको संघारमा रहेको निगमको सुधारदेखि नयाँ हवाई रुटको चुनौती

शुक्रबार, चैत १३ २०८२
पर्यटनमन्त्री खड्कराज : विघटनको संघारमा रहेको निगमको सुधारदेखि नयाँ हवाई रुटको चुनौती

काठमाडौं- बालेन शाह नेतृत्वको सरकारमा पर्यटनमन्त्री बनेका खड्कराज पौडेल (गनेस) परिचित साहित्यकारका साथै अभियन्ता हुन्। 

२०७९ बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उठेर पराजित भएका गनेस यसपटक प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित भएका हुन्। यसअघि नेपालमा संविधान जारी भएपछि नेपालमा वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ शक्ति नेपाल खोलेका डा. बाबुराम भट्टराई नेतृत्वमा पनि उनी छोटो समयका लागि सहभागी भएका थिए।

२०३६ सालमा पोखरा महानगरपालिका-१४ मझेरीपाटनमा जन्मिएका पौडेलले पोखरा विश्वविद्यालयबाट एमबीए र त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातक गरेका छन्। साहित्यबाट सुरु भएको उनको यात्राले सामाजिक आन्दोलन, सहकारी अभियान, युवा परिचालन हुँदै वैकल्पिक राजनीतिक अभ्यासको रूप लिएको छ।

किताबको विमर्श, साहित्यिक महोत्सवहरूको प्रबर्द्धनमा लाग्दै आएका गनेसले विभिन्न कृतिहरू लेखेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित क्षेत्रका नागरिकको सरोकारका लागि आवाज उठाउँदै आएका उनका अघि अब वृहत जिम्मेवारी आएको छ। उनका लागि सबभन्दा ठूलो चुनौती आर्थिक संकटमा रहेको राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाईको सुधार गर्नु पर्ने छ।

नेपाल वायुसेवा निगम कात्तिक ७ गतेदेखि नेतृत्वविहीन छ। सुशिला कार्की सरकारले निगम नेतृत्व खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भन्दै प्रक्रिया थालनी गरेकी थिइन्। तर सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण नियुक्ति प्रक्रिया रोकिएको छ। अब उनले सबैभन्दा पहिले निगममा सक्षम नेतृत्व ल्याउनुपर्ने छ।

२०६२/०६३ को जनआन्दोलनपछि निगम नेतृत्वमा नियुक्तिमा राजनीति प्रभाव बढेको थियो। आर्थिकरुपमा संकट भोगिरहेको निगमलाई विश्वासिलो र भरपर्दो एयरलाइन्स बनाउन राजनीतिक पूर्वाग्रह नराखी सक्षम व्यक्तिलाई नेतृत्वका ल्याउनु पर्ने छ।

नेतृत्व छनोटसँगै चालु आर्थिक वर्षभित्रै निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको दुईवटा वाइडबडी जहाजको चारवटै इन्जिन मर्मतको ठेक्का गर्नुपर्ने छ। नेतृत्वविहीन भएको एयरलाइन्सले इन्जिन मर्मत तथा इन्जिन भाडामा लिने प्रक्रिया रोकेर राखेको छ। यो काम समयमा नै नहुने हो भने दुईवटै जहाज ग्राउन्डेड हुने छ। 

जहाज ग्राउन्डेड हुँदा निगमले दैनिक एउटा जहाजबाट मात्रै दैनिक १ करोड ५० लाखभन्दा बढी आम्दानी गुमाउने छ। यसका लागि पौडेलले सबैभन्दा निगमको काममा ध्यानकेन्द्रित गर्नुपर्ने छ।

अर्को विषय, निगमबाट कात्तिकमा अवकाश भएका कार्यकारी अध्यक्ष युवराज अधिकारीको समयमा इन्जिन मर्मत तथा भाडामा भएको घोटा छानबिन गर्दै विघटनको संघारमा पुगेको निगमलाई माथि उकास्न पर्ने चुनौती छ। 

निगमको सम्पत्तिभन्दा ऋण बढी भइसकेको छ। निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्नेतर्फ पौडेलकेन्द्रित हुनुपर्ने छ। निगमकै सुधारका लागि २०७७ सालदेखि उडान बन्द भएका चिनियाँ जहाज व्यवस्थापन गर्दै आन्तरिक उडानका लागि थप जहाज भित्र्याउने पर्ने काम पनि पौडेलले अगाडि बढाउनु पर्ने छ। अहिले आन्तरिक उडानमा दुईवटामात्रै ट्वीनअटरमात्रै जहाज छन्।

यसैगरी निगमको व्यापार बढाउनका लागि थप गन्तव्य विस्तार गर्नुपर्ने चुनौती छ।

साथै मन्त्री पौडेलले २०१३ सालदेखि नेपाली वायुसेवा कम्पनीहरुलाई युरोप उडानमा ईयूले लगाएको प्रतिबन्ध हटाउनुपर्ने चुनौती सामाना गर्नुपर्ने छ।

पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालन गर्नुपर्ने चुनौतीसमेत पौडेलमाथि छ। सबैभन्दा ठूलो चुनौती भारतीय पक्षले एक दशकभन्दा बढी समयदेखि नयाँ हवाई रुट दिएको छैन।

हवाई रुटमा भारतीय पक्षलाई सहमतिमा ल्याउँदै महेन्द्रनगरलगायतका हवाई रुटमा जहाजका लागि नेपाल प्रवेशको रुट लिनुपर्ने छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणभित्रको चरम आर्थिक हिनामिनाको विषयमासमेत छानबीन गरी कारबाही प्रक्रिया अगाडि बढाउनु पर्ने दायित्व छ। 

साथै दुई दशकदेखि नेपालको पर्यटनमा नयाँ प्रोडक्ट नहुँदा पर्यटक आगमनमा अपेक्षाकृत वृद्धि हुन सकेको छैन। यसमा पनि पौडेलले पर्यटन ऐन ल्याउँदै काम गर्नुपर्ने छ। लुम्बिनी र पशुपतिको गुरुयोजनासमेत कार्यान्वयनमा लैजानुपर्ने चुनौती पौडेलसामु छ। 


प्रकाशित : शुक्रबार, चैत १३ २०८२१४:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend