काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनिल लम्साललाई भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी दिएको छ। उनले प्रधानमन्त्री बालेन शाहसँगै शुक्रबार शपथ ग्रहण गरेका छन्।
रुपन्देही-१ बाट निर्वाचित ३५ वर्षीय लम्सालले नेपाली कांग्रेसका हीराबहादुर केसीलाई ४२ हजार ८ सय ६३ मतान्तरले हराउँदै संसदीय यात्रा सुरु गरेका हुन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ भलबारीमा २०५२ सालदेखि सपरिवार स्थायी बसोबास गर्दै आएका लम्साल २०४७ असोज १८ गते स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका हुन्।
पहाडको सामान्य परिवारमा हुर्किएका सुनिल बुवा बोधराज लम्साल र आमा जमुना लम्सालका तीन छोरामध्ये माइलो सन्तान हुन् । विद्यालय तहको अध्ययन रुपन्देहीको भलबारीमै पूरा गरेका लम्सालले उच्च शिक्षा पनि स्थानीय लुम्बिनी इन्जिनियरिङ कलेजबाट गरेका हुन् ।
विद्यार्थीकालमा एमालेनिकट विद्यार्थी संगठनबाट राजनीतिमा संलग्न रहेका लम्साल अनेरास्ववियुको तर्फबाट सोही क्याम्पसको स्ववियु सभापतिसमेत निर्वाचित भएका थिए।
प्राविधिक दक्षता, राष्ट्रिय गौरवका पूर्वाधार आयोजनामा काम गरेको अनुभव, सहरी विकास र वातावरण व्यवस्थापनसम्बन्धी अध्ययन-अनुसन्धानमा उनको विशेष दख्खल छ।
मन्त्री लम्सालले सिभिल इन्जिनियरिङ विषयमा स्नातक र संरचनात्मक इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी काठमाडौं विश्वविद्यालयमा ‘ठोस फोहोर व्यवस्थापन’ विषयमा विद्यावारिधि गर्दै छन्।
विसं २०७९ को स्थानीय निर्वाचनपछि काठमाडौं महानगरपालिकामा पूर्वाधार र वातावरण विज्ञको रूपमा तत्कालीन मेयर बालेन शाहको सचिवालयमा काम गरेका उनले राष्ट्रियस्तरमा नयाँ युवा नेतृत्वको विकल्पको रूपमा ध्यान खिचेका छन्।
फोहर व्यवस्थापनलाई केवल सरसफाइको विषय होइन, वातावरणीय सन्तुलन, जनस्वास्थ्य र मानवअधिकारसँग जोडिएको संरचनागत विषयका रूपमा उनले व्याख्या गर्दै आएका छन् । वैज्ञानिक, दीर्घकालीन र समुदायमैत्री समाधानबिना समस्या दोहोरिरहने उनको धारणा छ।
लम्साल बालेन शाहका सहपाठीसमेत हुन्। उनी काठमाडौं महानगरपालिकामा पूर्वाधार र वातावरण क्षेत्रमा सक्रिय रहेका कारण युवा नेतृत्व र नयाँ दृष्टिकोणको विकल्पका रूपमा हेरिएका छन्। रास्वपाका नेता र मतदाताले उनलाई 'पूर्वाधार र विकास बुझ्ने युवा नेता' का रूपमा रुचाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्वमा महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री लम्साल संगठन व्यवस्थापन, अभियान सञ्चालन र नीतिगत एजेन्डा अघि बढाउने भूमिकामा सक्रिय छन्।
भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास मन्त्रालय नेपालमा सबैभन्दा ठूलो बजेट र ठूला आयोजना सम्हाल्ने मन्त्रालयमध्येको एक हो। आगामी वर्षमा २ खर्ब रुपैयाँभन्दा बढी बजेटको व्यवस्थापन गर्नुपर्ने यस मन्त्रालयले सडक, पुल, स्मार्ट सहर विकास, खानेपानी, मल्टि-मोडल ट्रान्सपोर्टेसन र भौतिक संरचनाका ठूला आयोजना सञ्चालन गर्नेछ।
विशेषगरी राष्ट्रिय गौरवका सडक, स्मार्ट सहर परियोजना र सिंहदरबार पुनर्निर्माणजस्ता ठूला योजनामा मुख्य भूमिका खेल्ने जिम्मेवारी लम्सालले पाएका छन्।
उनको व्यावसायिक अनुभव धेरै व्यापक छ। काठमाडौं महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञको रूपमा काम गर्दै उनले ३५ जिल्लामा नमुना विद्यालय र १२ जिल्लाका जिल्ला अस्पतालको पूर्वाधार विकासमा योगदान दिएका छन्।
रुपन्देहीमा निर्माणाधीन एक्स्टा ओभल क्रिकेट स्टेडियम, भैरहवा र पोखराका अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार र सिंहदरबार पुनर्निर्माणजस्ता परियोजनामा पनि उनी सक्रिय थिए।
उनको चुनावी एजेण्डामा विकास, कृषि आधुनिकीकरण, शिक्षामा गुणस्तरीय सुधार, सुशासन, पारदर्शिता, सडक, खानेपानी, किसानलाई बजार सुनिश्चितता, युवालाई रोजगारी सिर्जना र उद्यमशीलताको विकास मुख्य प्राथमिकता थिए।
बालेन शाह नेतृत्वको सरकारमा लम्सालले भौतिक पूर्वाधारको ठूला आयोजना कार्यान्वयनमा दक्षता, पारदर्शिता र नयाँ दृष्टिकोण ल्याउने अपेक्षा छ। देशभरका सडक, पुल, विद्यालय, अस्पताल र सहरी पूर्वाधारमा सुधार ल्याउन उनको अनुभव र पेशागत दक्षता महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
सुशासन, गुणस्तरीय पूर्वाधार र युवा सशक्तीकरणलाई विशेष जोड दिँदै पारदर्शी सार्वजनिक सेवा प्रणाली विकास गर्नुपर्ने उनी बताउँछन्। प्रशासनिक प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै सेवाग्राहीलाई सहज, छिटो र विश्वसनीय सेवा उपलब्ध गराउने मन्त्री लम्सालको प्रतिबद्धता छ ।
पूर्वाधार विकासका सन्दर्भमा उनी ‘मौसमी सडक’ को अवधारणाबाट बाहिर निस्कनुपर्ने र गुणस्तर मापदण्ड कडाइका साथ लागू नगर्दासम्म विकास दिगो नहुने उनको तर्क छ। विकासको स्पष्ट परिणामका लागि मुख्यतया योजना बनाउँदा लागत, समयरेखा, गुणस्तर मापदण्ड र अनुगमन प्रणाली स्पष्ट हुनुपर्ने उनी ठान्छन्।