बुधबार, असार १० गते २०८३    
बुधबार, असार १० २०८३

मन्त्री चयनमा रास्वपाको तीव्र कसरत, सम्भावित मन्त्रीहरू को-को?

शुक्रबार, चैत १३ २०८२
मन्त्री चयनमा रास्वपाको तीव्र कसरत, सम्भावित मन्त्रीहरू को-को?

बिहान ७ बजेदेखि सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक सुरु भएको हो। केहीबेरमै मन्त्रिपरिषद्को पूर्ण सूची टुंगो लगाउने तयारी रहेको नेताहरूले बताएका छन्।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र मन्त्री चयनका लागि शीर्ष नेताबीच शुक्रबार बिहानदेखि तीव्र छलफल जारी छ। बिहान ७ बजेदेखि सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबीच बैठक सुरु भएको हो। केहीबेरमै मन्त्रिपरिषद्को पूर्ण सूची टुंगो लगाउने तयारी रहेको नेताहरूले बताएका छन्।

रास्वपाका वरिष्ठ नेता शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुँदै छन्। राष्ट्रपति रामचन्द्र पौडेलले निर्धारित समयभन्दा केही अगाडि उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको राष्ट्रपति कार्यालयले जनाएको छ। शाहले आजै दिउँसो १२ः३४ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १ सय ८२ सांसद रहेकाले संविधानको धारा ७६ (१) अनुसार शाह बहुमत प्राप्त संसदीय दलका नेताको हैसियतमा प्रधानमन्त्री बन्न लागेका हुन्। यस प्रावधानअनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत लिनु नपर्ने व्यवस्था छ।

दलभित्रको छलफलअनुसार प्रधानमन्त्रीसहित १६ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी छ। मन्त्रिपरिषद्मा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास भइरहेको नेताहरूले बताएका छन्। मन्त्रालय संरचनामा पनि केही समायोजन गर्ने तयारी छ—पर्यटन र उद्योग एउटै मन्त्रीलाई तथा भौतिक पूर्वाधार र सहरी विकास एउटै मन्त्रीलाई दिने विषयमा छलफल भइरहेको छ।

मन्त्री बन्ने सूचीमा स्वर्णिम वाग्ले, शिशिर खनाल, सोबिता गौतम, इन्दिरा राना, सुनील लम्साल, सस्मित पोखरेललगायतका नाम चर्चामा छन्। स्रोतका अनुसार वाग्लेलाई अर्थमन्त्री र खनाललाई परराष्ट्रमन्त्री बनाउने लगभग निश्चितजस्तै देखिएको छ। लम्साललाई गृह वा भौतिक पूर्वाधारमध्ये एक मन्त्रालय दिनेबारे अन्तिम निर्णय हुन बाँकी छ।

प्रत्यक्षतर्फ लगातार दुई पटक निर्वाचित सोबिता गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिने तयारी छ भने समानुपातिकबाट सांसद बनेकी प्रतिभा रावललाई पनि मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ। आन्दोलनबाट आएका सुधन गुरुङलाई समेत मन्त्रिपरिषद्मा समेट्ने तयारी रहेको जनाइएको छ।

त्यसैगरी, सर्लाही–४ बाट निर्वाचित अमरेशकुमार सिंहलाई पनि मन्त्री बनाउने विषयमा छलफल भइरहेको छ। सिंहले चुनावमा गगन थापालाई पराजित गरेका थिए।

यसैबीच, मन्त्री चयन र सरकारका प्रारम्भिक प्राथमिकताबारे शीर्ष नेतृत्वबीच निरन्तर छलफल भइरहेको भए पनि सम्भावित मन्त्रीहरूको अन्तिम सूचीबारे दोस्रो तहका नेताहरूलाई औपचारिक जानकारी नदिइएको स्रोतले जनाएको छ।

शाहले काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएको करिब दुई महिनामै संघीय सरकारको नेतृत्व सम्हाल्न लागेका हुन्। २०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा मेयर बनेका उनले पछि रास्वपासँग एकता गरेका थिए। २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनले झापा–५ बाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै संघीय राजनीतिमा प्रवेश गरेका थिए।

आजै हुने शपथग्रहणसँगै नयाँ सरकारको औपचारिक सुरुवात हुने र त्यससँगै मन्त्रिपरिषद्को पूर्णता पनि दिइने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, चैत १३ २०८२०७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend