काठमाडौं- मुलुकले आज नयाँ प्रधानमन्त्री पाउँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई आज दिउँसो प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।
राष्ट्रपति कार्यालयका अनुसार शपथअघि बालेन शाहलाई औपचारिक रूपमा प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा १ अनुसार एकल बहुमतका आधारमा सरकार गठन हुन लागेको हो।
शपथ ग्रहण समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, कूटनीतिक नियोगका प्रतिनिधि, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूको सहभागिता रहनेछ। प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्का सदस्यहरूको पनि शपथ गराइने कार्यक्रम रहेको जनाइएको छ।
गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही आधारमा दलले बिहीबार बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको हो।
निर्वाचनमा बालेन शाहले झापा क्षेत्र नम्बर ५ बाट ६८ हजार ३४८ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए। यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नव-निर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।