काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एक दलको बहुमत आउँदैन भन्ने भाष्य गलत सावित भएको बताएकी छन्। बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्।
प्रधानमन्त्री कार्कीले आफ्नो सम्बोधनमा भनेकी छन्, 'यो संविधानमा भएको निर्वाचन प्रणालीले कुनै दलले बहुमत प्राप्त गर्न सक्दैन भन्ने भाष्यलाई समेत गलत सावित गरिदिएको छ। नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरुलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।'
उनले यस निर्वाचनमा नागरिकहरूले लोकतन्त्र र परिवर्तनको पक्षमा दिएको स्पष्ट जनादेशले संविधानमा भएको व्यवस्था कार्यान्वयनयोग्य रहेको र बहुमत प्राप्त गर्न नसक्ने पूर्वधारणा गलत भएको प्रमाणित गरेको उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले आगामी सरकारको दिशा पनि जनाए। उनले भनिन् कि युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जेनजी आन्दोलनको माग र आकांक्षाअनुसार सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचारको अन्त्य, आर्थिक विकास र सामाजिक न्याय को क्षेत्रमा नतिजामुखी काम गर्ने विश्वास लिएको छ।
उनले आफ्नो भाषणमा अन्तरिम सरकारले सुरु गरेका केही काम र आधारशिला तयार भएको कुरा पनि स्मरण गराइन्। 'छ महिनाको अवधिमा हामीले केही सीमित समय भए पनि निर्वाचन व्यवस्थित गर्यौं, प्रशासन र सुरक्षा निकायलाई सक्रिय बनायौं, र राजनीतिक दल तथा नागरिक समाजसँग समन्वय स्थापित गर्यौं। यसले आगामी सरकारले सहज रूपमा काम गर्न आधारशिला तयार पार्नेछ,' उनले भनिन्।
प्रधानमन्त्री कार्कीले नागरिकलाई सन्देश दिँदै आगामी सरकारले जनताको अपेक्षा अनुसार भ्रष्टाचार नियन्त्रण, सुशासनको स्थापन र आर्थिक तथा सामाजिक विकासको मार्गमा ठोस कदम चाल्ने विश्वास व्यक्त गरेकी छिन्।
उनले लोकतान्त्रिक मूल्य, पारदर्शिता, निष्ठा र जनभावनालाई केन्द्रमा राखेर काम गर्ने महत्व पनि दोहोर्याइन्। साथै, नयाँ सरकारलाई संवैधानिक मर्यादा पालनामा ध्यान दिन र सबै पक्षले आफ्ना कर्तव्य निर्वाह गर्न आह्वान गरिन्।