बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

संसदीय दलको नेतामा बालेन शाह चयन, प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो

बिहीबार , चैत १२ २०८२
संसदीय दलको नेतामा बालेन शाह चयन, प्रधानमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह संसदीय दलको नेता तथा प्रधानमन्त्रीको उम्मेदवारको रूपमा सभापतिद्वारा गरिएको प्रस्ताव सर्वसम्मत पारित भएको छ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ। पार्टीको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले उक्त निर्णय अनुमोदन गरेको हो।

पार्टी सभापति रवि लामिछानेले प्रस्तुत गरेको प्रस्तावमा सबै सदस्यहरूले समर्थन जनाएपछि शाहको नेतृत्वमा संसदीय दल गठन गर्ने निर्णय सर्वसम्मत पारित भएको हो। केहीबेर अघि बसेको बैठकले औपचारिक रूपमा संसदीय दलको नेतृत्व टुंगो लगाएको हो।

निर्णयसँगै आज साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई संसदीय दलको नेता चयनबारे जानकारी गराइने कार्यक्रम छ। त्यसपछि राष्ट्रपतिले संवैधानिक प्रावधानअनुसार शाहलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी छ।

प्रतिनिधिसभामा स्पष्ट बहुमत हासिल गरेसँगै रास्वपा सरकार गठनको अन्तिम चरणमा पुगेको छ। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ८२ सिट जित्दै रास्वपाले बहुमत सुनिश्चित गरेको हो। यसले नेपालको संविधान धारा ७६(१) अनुसार सरकार गठनको मार्ग प्रशस्त गरेको छ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले बहुमत प्राप्त संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ। सोहीअनुसार बालेन शाहले यही चैत १३ गते रामनवमीका दिन प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।


प्रकाशित : बिहीबार , चैत १२ २०८२१७:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend