बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

९ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला चैत २० गतेदेखि, स्थायी प्रदर्शनी हलको माग

बुधबार, चैत ११ २०८२
९ औं अन्तर्राष्ट्रिय  महिला उद्यमी व्यापार मेला  चैत  २० गतेदेखि, स्थायी प्रदर्शनी हलको माग

महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले यही चैत २० गतेदेखि तीन दिनसम्म ९ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ।

काठमाडौं- महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले यही चैत २० गतेदेखि तीन दिनसम्म ९ औं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला आयोजना गर्ने भएको छ। ललितपुरस्थित हेरिटेज गार्डेन मा सञ्चालन हुने उक्त मेला चैत २२ गतेसम्म जारी रहनेछ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले मेलाबारे जानकारी दिएको हो। महासंघमा आबद्ध ६ हजारभन्दा बढी महिला उद्यमी सदस्यको सहभागिता रहने यस मेलाको उद्देश्य ग्रामीण तथा शहरी क्षेत्रका सफल महिला उद्यमीहरूको पहिचान, प्रोत्साहन र उद्यमशीलताको उत्साह अभिवृद्धि गर्नु रहेको जनाइएको छ।

कार्यक्रममा महासंघकी अध्यक्ष दर्शना श्रेष्ठ ले यो मेला केवल व्यापारिक प्रदर्शनीमा सीमित नभई महिलाको आर्थिक सशक्तीकरणतर्फको महत्वपूर्ण कदम भएको बताइन्। यस वर्ष प्रदर्शनीसँगै सिकाइलाई पनि जोडिएको जानकारी दिँदै उनले ‘नेपालको प्राकृतिक रेशा अर्थतन्त्रको सम्भावना उजागर’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिने जानकारी दिइन्। उक्त छलफलमा सरकारी निकाय, लगानीकर्ता तथा उद्यमीबीच प्राकृतिक रेशा क्षेत्रमा रहेका सम्भावना, चुनौती र अन्तरराष्ट्रिय बजार विस्तारका विषयमा विमर्श हुने बताइएको छ।

अध्यक्ष श्रेष्ठले छोटो अवधिको मेलाले सीमित प्रभाव पार्ने उल्लेख गर्दै महिला उद्यमीका उत्पादन वर्षभरि प्रदर्शन गर्न सकिने स्थायी प्रदर्शनी स्थल (शोरूम) उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्। महिला उद्यमीको संख्या बढ्दो क्रममा रहे पनि बजारीकरण, क्षमता अभिवृद्धि र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तारका लागि आवश्यक कोष अभाव रहेको उनले औंल्याइन्।

महासंघकी प्रथम उपाध्यक्ष तथा मेला संयोजक सुनिता वैद्य श्रेष्ठ का अनुसार मेलामा नेपालका ७७ वटै जिल्ला र ७ प्रदेशका साथै चीन, भारत, भुटान र बंगलादेशलगायत देशबाट महिला उद्यमीहरूको सहभागिता रहनेछ। कुल १४० वटा स्टलमा करिब ३०० महिला उद्यमीले आफ्ना उत्पादन प्रदर्शन गर्नेछन्।

मेलामार्फत महिला उद्यमीका वस्तु तथा सेवाको प्रदर्शन, प्रवर्द्धन र बिक्रीका लागि प्रभावकारी प्लेटफर्म सिर्जना गर्ने, उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै बजार पहुँच विस्तार गर्ने तथा ठूला खरिदकर्ता, लगानीकर्ता र निजी क्षेत्रबीच व्यावसायिक सहकार्य अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। आयोजकका अनुसार मेलामा करिब २ करोड रुपैयाँ बराबरको कारोबार हुने र ५० हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ।

प्रदेशगत रूपमा विभिन्न रैथाने तथा परम्परागत उत्पादनहरू प्रदर्शनीमा राखिनेछन्। कोशी प्रदेशबाट अल्लो, बाँस, कफी तथा प्राकृतिक रेशा सामग्री, मधेशबाट मिथिला कला र बाँसजन्य उत्पादन, बागमतीबाट डेरी, चिज, हस्तकला तथा खाद्यान्न सामग्री, गण्डकीबाट ढाका तथा जडीबुटीजन्य वस्तु, लुम्बिनीबाट ढाका, अल्लो र परम्परागत खाद्यवस्तु, कर्णालीबाट राडिपाखी तथा कृषिजन्य उत्पादन र सुदूरपश्चिमबाट गलैंचा, काठका सामग्री तथा कृषि उत्पादनहरू प्रदर्शन गरिने जनाइएको छ।


प्रकाशित : बुधबार, चैत ११ २०८२०७:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend