बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

सुनसरी- यहाँको रामधुनी नगरपालिका-६ स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। १३ वर्षअघि स्थापना गरिएको उक्त सिमसार क्षेत्र उपभोक्ता समितिको सक्रियता, संरक्षण, सरसफाइ तथा प्रदेश र स्थानीय सरकारको सहयोगमा पर्यटकीय स्थलका रूपमा विकास गरिएको हो।

सिमसार व्यवस्थापन समितिका पूर्वअध्यक्ष रत्न राईका अनुसार यहाँ दैनिक हजारौँ पर्यटक आउने गरेका छन्। वनभोजका याममा दैनिक १० हजार बढी र ‘अफ सिजन’मा दैनिक १५० बढी पर्यटक आउने गरेको राईले बताए।

कात्तिकदेखि पुससम्म र वैशाख १५ देखि जेठ २० सम्म वनभोजका लागि यहाँ आउनेको भीड हुने उनले बताए। शंकरबेली वन उपभोक्ता समितिले संरक्षण गर्दै आएको उक्त सिमसार प्राकृतिक मनोरञ्जन र वनभोजका लागि उपयुक्तस्थल मानिन्छ। सिमसार वरपरका शिरीषका फूल वैशाख महिनामा फुल्दा यस क्षेत्रको सौन्दर्यले आकर्षित गर्ने गर्छ। सो समयमा पर्यटकको चाप पनि बढ्ने गरेको समितिको भनाइ छ।

एकै पटक करिब ११० टोलीले वनभोज खान सक्ने क्षमता रहेको यस क्षेत्र वनभोजका लागि उपयुक्त स्थल मानिन्छ। वनभोजका लागि आउने टोलीबाट ३०० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म शुल्क लिने गरिएको छ। उक्त रकमबाट सिमसारको संरक्षण, सरसफाइ तथा व्यवस्थापन गरिँदै आएको समितिले जनाएको छ।

करिब साढे चार बिघा क्षेत्रफलमा फैलिएको सिमसारमा कोशी प्रदेश सरकारद्वारा गत आर्थिक वर्ष २०८०/८१ मा विनियोजित दुई करोड रुपैयाँले विभिन्न पूर्वाधार निर्माण गरिएको उपभोक्ता समितिका सदस्य निश्चल तामाङले जानकारी दिए।

पोखरीको बीचमा अवस्थित रामधुनी नगरपालिकाको सहयोगमा करिब एक लाख ५० हजार रुपैयाँमा निर्माण गरिएको ‘ह्वाइट हाउस’ले सिमसारको आकर्षण थप बढाएको छ। यहाँ धरान, इटहरी, विराटनगर, झापा र उदयपुरलगायत भारतबाट पर्यटक आउने गरेका छन्। रासस


प्रकाशित : मंगलबार, चैत १० २०८२१४:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend