बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

सत्ती भन्सार कार्यालयद्वारा आठ महिनामा वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व संकलन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
सत्ती भन्सार कार्यालयद्वारा आठ महिनामा वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व संकलन

कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ संकलन गरेको छ।

कैलाली- टीकापुर नगरपालिका-९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको ६० प्रतिशत राजस्व संकलन गरेको छ।

भन्सार कार्यालयले वार्षिक लक्ष्यको ६० प्रतिशत राजस्व संकलन गरे पनि बाँकी चार महिनामा ४० प्रतिशत राजस्व संकलन गर्नुपर्ने देखिएको हो। कार्यालयले चालु आर्थिक वर्षमा १५ करोड ८४ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा फागुनसम्म ९ करोड ६२ लाख ४१ हजार रुपैयाँ संकलन गरेको छ।

कार्यालयले लक्ष्यको सबैभन्दा कम साउनमा ६३ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनमा १ करोड २८ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गर्नुपर्ने भए पनि लक्ष्यको ४९.१७ प्रतिशतमात्रै संकलन भएको कार्यालय प्रमुख चक्रबहादुर सोनीले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी मंसिरमा १ करोड ६७ लाख ७४ हजार रुपैयाँ अर्थात् लक्ष्यको १३८.५१ प्रतिशत राजस्व संकलन भएको छ। मंसिरमा भन्सारले १ करोड २१ लाख १० हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो।

कार्यालयले बितेको आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ भने चार महिना लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेको छैन। कार्यालयका अनुसार असोज, मंसिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ। बाँकी साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल गर्न सकेको छैन।

भन्सार प्रमुख सोनीले चार महिनामा भन्सारले राजस्व संकलनको लक्ष्य हासिल गर्ने दाबी गरे। 'सामानको आयात कतिसम्म हुन्छ भन्ने कुराले राजस्व संकलनको लक्ष्य निर्धारण गर्ने हो,' उनले भने, 'लगभग अहिलेसम्मको भन्सारबाट आयात हुने सामानको अवस्था हेर्दा लक्ष्य हासिल हुनेमा ढुक्क छौँ।'

उनले खुला सिमानाका कारण कैयौँ चोरीपैठारीका घटना हुने हुँदा राजस्व संकलनमा चुनौती देखिएको बताए। भन्सार प्रमुख सोनीले भन्सारको स्तरोन्नति भएर क्वारेन्टाइन स्थापना भए करोडमा नभई अर्बमा राजस्व संकलन हुने विश्वास व्यक्त गरे।

गत वर्ष भन्सारले लक्ष्यको ११९ प्रतिशत राजस्व संकलन गरेको थियो। १२ करोड ७ लाख ३२ हजार रुपैयाँको लक्ष्य रहेकामा १४ करोड ३७ लाख ८२ हजार रुपैयाँ राजस्व उठाएको थियो। त्यसअघिका तीन वर्ष भन्सारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १२ करोड १ लाख ४७ हजार रुपैयाँ लक्ष्य रहेकामा १० करोड २ लाख ४२ हजार रुपैयाँ संकलन भएको थियो। त्यसैगरी, आर्थिक वर्ष २०७९/८० मा १६ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्वको लक्ष्य पाएको भन्सार कार्यालयले ७ करोड ५० लाख ४० हजार रुपैयाँ मात्रै संकलन गर्न सक्यो।

आर्थिक वर्ष २०७८/७९ मा पनि सत्ती भन्सारले राजस्व लक्ष्य हासिल गर्न सकेन। २० करोड ५८ लाख ६१ हजार रुपैयाँको लक्ष्य पछ्याएको भन्सार कार्यालयले १० करोड ६७ लाख ९३ हजार रुपैयाँ मात्र संकलन गर्न सक्यो। १४ करोड २३ लाख ४८ हजार रुपैयाँको लक्ष्य आर्थिक वर्ष २०७७/७८ मा पाएको भन्सारले १५ करोड ८३ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। रासस


प्रकाशित : मंगलबार, चैत १० २०८२१३:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend