बिहीबार , असार ११ गते २०८३    
बिहीबार , असार ११ २०८३

वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
वन डढेलो र सुक्खापन रोकथामका लागि वनमा पोखरी

पोखरीमा पानी संकलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत अधिकारीले बताए।

म्याग्दी- वन डढेलो नियन्त्रण, सुक्खापन रोकथाम, मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण थालिएको छ। यहाँस्थित डिभिजन वन कार्यालयको सहयोगमा सामुदायिक वन उपभोक्ता समूहद्वारा यस वर्ष छ वटा पोखरी निर्माण गर्न थालिएको हो।

पानी र आहराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न, पोखरीमा पानी भरेर चिस्यान कायम राख्न र डढेलो निभाउनका लागि आवश्यक पर्ने पानी संकलन गर्न पोखरी बनाउन लागिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले जानकारी दिए।

'पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआउन् भनेर जंगलमा पोखरी बनाउने कार्यक्रम सुरु गरेका थियौँ। उक्ता कार्यक्रम प्रभावकारी बनेपछि पछिल्लो चार वर्षयता निरन्तरता दिएका छौँ,' उनले भने, 'वनमा पानी र आहारा भएपछि वन्यजन्तु मानव बस्तीमा नआउने र द्वन्द्व व्यवस्थापनमा सहयोग पुगेको छ।'

पोखरीमा पानी संकलन हुँदा जमिनमा रिचार्ज हुने र डढेलो लागेको अवस्थामा निभाउन आवश्यक पर्ने पानी व्यवस्थापन गर्न सजिलो हुने गरेको डिभिजनल वन अधिकृत अधिकारीले बताए।

बेनी नगरपालिका-५ को चिप्लरी सिमपाखो, मंगला गाउँपालिका-१ कुहुँको पात्लेपानी, धवलागिरि गाउँपालिका-३ मुनाको दहपातल, रघुगंगा गाउँपालिका-६ को ठाडाखानी, मालिका गाउँपालिका-६ को सानो धैरेनी उपल्लोतला र अन्नपूर्ण गाउँपालिका-७ को घराम्दी सामुदायिक वन पोखरी बनाउन छनोट भएका छन्।

करिब ६१ दशमलव ७५ वर्गमिटर क्षेत्रफलमा निर्माण भएका पोखरीमा ६१ हजार लिटर पानी संकलन गर्न सकिनेछ। प्रतिपोखरी निर्माणका लागि कार्यालयले समूहलाई १ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ। यसअघि आव २०७८/७९ मा १०, २०७९/८० मा ६, २०८०/८१ मा १० र २०८१/८२ मा ५ गरी ३१ वटा पोखरी निर्माण भइसकेका छन्।

जिल्लामा पछिल्लो समय रतुवा, मृग, बाँदर, चितुवालगायत वन्यजन्तु नजिकको मानवबस्तीमा आएर क्षति पुर्‍याउन थालेका छन्। यसरी बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्दछन्। रासस


प्रकाशित : मंगलबार, चैत १० २०८२११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend