बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

लगातार ३६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत १० २०८२
लगातार ३६ हजार रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको मूल्य बढ्यो

गएको साताको बुधबारदेखि सुनको मूल्य लगातार घट्दो छ।  त्यसयता पछिल्ला ६ दिनमा सुनको मूल्य प्रतितोला ३६ हजार रुपैयाँले घटेको छ।

काठमाडौं- नेपाली बजारमा पछिल्ला दिन सुनको मूल्य लगातार घटिरहेको छ। पश्चिम एसियामा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा देखिएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको हो। 

नेपाली बजारमा आज मंगलबार पनि सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार सुन प्रतितोला २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

गएको साताको बुधबारदेखि सुनको मूल्य लगातार घट्दो छ। त्यसयता पछिल्ला ६ दिनमा सुनको मूल्य प्रतितोला ३६ हजार रुपैयाँले घटेको छ। 

सुनको मूल्य गएको बुधबार २ हजार २ सय रुपैयाँ, बिहीबार ५ हजार ४ सय रुपैयाँ र शुक्रबार ७ हजार ८ सय रुपैयाँले घटेको थियो भने यो साताको आइतबार १२ हजार ५ सय रुपैयाँ, सोमबार ६ हजार ५ सय रुपैयाँ र मंगलबार १ हजार ६ सय रुपैयाँले घटेको छ। 

यस्तै पछिल्ला ५ दिन लगातार घटेको चाँदीको मूल्य आज मंगलबार भने बढेको छ। चाँदीको मूल्य यसअघि गएको बुधबारदेखि यो साताको सोमबारसम्म लगातार घटेको थियो।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

सुन नेपाली बजारमा गत माघ १५ गते हालसम्मकै उच्च मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी गत माघ १५ गते नै हालसम्मकै उच्च मूल्य प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, चैत १० २०८२११:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend