काभ्रेपलाञ्चोक- जिल्ला विपद् व्यवस्थापन समिति ले बाढीपहिरोबाट क्षति पुगेका घरधुरीको स्थायी आवास पुनर्निर्माणका लागि डेढ वर्षपछि अनुदान सिफारिस प्रक्रिया सुरु गरेको छ।
समितिको सोमबार बसेको बैठकले २०८१ असोजमा आएको बाढीपहिरोबाट पूर्ण तथा आंशिक रूपमा प्रभावित रोशी गाउँपालिका का पीडितहरूको नामावली सिफारिस गर्ने निर्णय गरेको हो। पहिलो चरणमा गाउँपालिकाका १९९ घर स्थायी रूपमा निर्माण गर्न तथा ४० घर रेट्रोफिटिङ (प्रवलीकरण) गर्न सिफारिस गरिएको समितिले जनाएको छ।
समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार विपत्तिबाट क्षति पुगेका आवासको छानबिनपछि स्थायी पुनर्निर्माणका लागि सिफारिस प्रक्रिया सुरु गरिएको हो। रोशी गाउँपालिकाबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मा सिफारिस पठाउन थालिएको र क्रमशः अन्य स्थानीय तहका पीडितलाई पनि समेट्दै लगिने उनले जानकारी दिए।
सरकारले २०८१ असोजको बाढीपहिरोबाट क्षति पुगेका आवासको पुनर्निर्माणका लागि प्रतिघर चार लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। उक्त रकममध्ये सङ्घीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ३० प्रतिशत र स्थानीय तहले २० प्रतिशत व्यहोर्ने नीति तय गरिएको छ। यसअघि जिल्लाका १० स्थानीय तहका दुई हजार ८९५ घरपरिवारलाई अस्थायी आवास अनुदान वितरण भइसकेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक ले जनाएको छ।
उक्त बाढीपहिरोका कारण रोशी गाउँपालिकामा १२ जनाको ज्यान गएको थियो भने ४८२ घर पूर्ण रूपमा र ८८३ घर आंशिक रूपमा क्षति पुगेको थियो। साथै, दुई हजार ५४४ परिवारको खेतीयोग्य जमिनमा क्षति पुगेको विवरण छ। विपत्तिबाट ६० वटा खानेपानी आयोजना, एक पक्की पुल, विद्यालय तथा चार स्वास्थ्य केन्द्रमा पनि क्षति पुगेको थियो।
त्यसैगरी, निर्माण सम्पन्न भइसकेको डम्फू पार्क, १० शय्याको अस्पताल तथा चिस्यान केन्द्रसहितको औद्योगिक ग्राम समेत बाढीपहिरोले बगाएको थियो।
गत वर्षको सोही विपत्तिमा जिल्लाभर ८१ जनाले ज्यान गुमाएका थिए भने छ जना अझै बेपत्ता छन्। करिब एक सयजना घाइते भएका थिए। जिल्लामा सबैभन्दा बढी क्षति व्यहोरेको रोशी गाउँपालिकाबाटै गत चैत अन्तिम सातादेखि निजी आवासको विस्तृत क्षति आकलन सुरु गरिएको थियो। रासस