काठमाडौं- संघीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालय व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
दलहरूको सांसद संख्या र पदाधिकारीको आवश्यकताअनुसार कक्षहरू छुट्याइएको छ भने अधिकांश स्थानमा रङरोगन, कार्पेट र फर्निचर जडानको काम सम्पन्न भइसकेको छ। यसपटक बहुमतसहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई भने सबैभन्दा ठूलो कक्ष दिइएको छ। सचिवालय भवन नं २ मा व्यवस्थित गरिएको रास्वपाको संसदीय दलको कक्षमा १८० कुर्सीसहितको बैठक हल राखिएको छ।
पूर्ववत् प्रयोगमा रहेका कार्पेट, पर्दा र अधिकांश फर्निचर नै पुनः प्रयोग गरिएको छ। थोरै नयाँ थपिएका छन्। खर्च कटौतीलाई प्राथमिकता दिने दलको धारणाअनुसार रास्वपाका महामन्त्री एवं नवनिर्वाचित सांसद कवीन्द्र बुर्लाकोटीले नयाँ खरिद नगरी उपलब्ध सामग्रीबाटै व्यवस्थापनका लागि गरेको आग्रहअनुसार व्यवस्थापन गरिएको कर्मचारी बताउँछन्। बैठक हलसँगै पदाधिकारीका लागि थप पाँच कक्षसमेत तयार पारिएको छ।
यसअघि रास्वपाले प्रयोग गर्दै आएको भवनमा भने अन्य दलहरूको कार्यालय व्यवस्थापन गरिएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका कक्षहरू त्यही भवनमा तयार गरिएको छ। यद्यपि ती कक्षहरूमा रङ्गरोगन सम्पन्न भइसकेको छ भने कार्पेट र फर्निचर जडानको काम जारी छ।
नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई भने साविककै संसदीय दलका कार्यालयमा निरन्तरता दिइएको छ। सांसद संख्या र पदाधिकारीका आधारमा कोठा विभाजन गरिएका छन्। संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार यो व्यवस्था अल्पकालीन भए पनि संसद् सञ्चालन सुरु हुने समयसम्म सबै दलका संसदीय कार्यालय पूर्ण रूपमा तयार भइसक्नेछन्। रासस