काठमाडौं- नेपाल वायुसेवा निगमले आउने बुधबारदेखि दुबई उडान सञ्चालन गर्न समय तालिका सार्वजनिक गरेको छ। निगमले काठमाडौं-दुबई रुटमा २५ र २७ मार्चका लागि अतिरिक्त उडान तालिका सार्वजनिक गरेको हो।
सूचनाअनुसार काठमाडौं-दुबई उडान आउने बुधबार स्थानीय समयअनुसार २३:१५ बजे प्रस्थान गर्ने, बिहीबार दुबई-काठमाडौं स्थानीय समयअनुसार ४:१० बजे, शुक्रबार काठमाडौं-दुबई उडान स्थानीय समयअनुसार २३:१५ बजे र शनिबार दुबई-काठमाडौं स्थानीय समयअनुसार ४:१० बजे उडान हुने छ।
उडान समय नियमित तालिकाअनुसार नै हुने निगमले जनाएको छ। यसअघि टिकट लिएर यात्रा गर्न असमर्थ रहेका यात्रुले निगमको केन्द्रिय कार्यालयमा टिकट पुनः प्रमाणीकरण गराइ प्रमाणित टिकटअनुसार तथा निगमको सूचना समेतलाई आधार मानी यात्रा गर्न अनुरोध गरेको छ।
जहाजको सिटको उपलब्धताअनुसार पहिले सम्पर्क गर्ने यात्रुलाई पहिलो प्राथमिकता दिइ टिकट उपलब्ध गराइने निगमले जनाएको छ।
निगमका अनुसार हाल देखिएको यात्रु चाप व्यवस्थापन गर्न र अघिल्लो अवधिमा प्रभावित यात्रुको यात्रा सुनिश्चित गर्न अतिरिक्त उडान थपिएको हो।
