काठमाडौं- पुष्प व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना गरिएको २७ औँ फ्लोरा एक्स्पोमा १ करोड २२ लाख रुपैयाँको आर्थिक कारोबार भएको छ।
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा भृकुटीमण्डपमा यही चैत ५ गतेदेखि सुरु भएको मेलामा आइतबारसम्ममा कुल ६० हजार ७०० जनाले अवलोकन गरेका छन्। १ करोड २२ लाख ६० हजार रुपैयाँबराबरको कारोबार भएको आयोजकले जनाएको छ।
फ्यानका कोषाध्यक्ष राजकृष्ण बजगाईंका अनुसार पहिलो दिन ९ हजार ५०० जनाले अवलोकन गरेका थिए भने २१ लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको थियो। दोस्रो दिन १७ हजार ५०० दर्शकले अवलोकन गरेका थिए भने २९ लाख ५० हजार रुपैयाँको कारोबार भएको थियो।
तेस्रो दिन २१ हजार ५०० दर्शकले मेला अवलोकन गरेका थिए भने ३९ लाख ८० हजार रुपैयाँबराबरको कारोबार भएको थियो। अन्तिम दिन आइतबार १२ हजार २०० जना दर्शकले मेला अवलोकन गर्दा ३१ लाख ८० हजार रुपैयाँको कारोबार भएको थियो।
‘स्वच्छ वातावरण, रोजगारी तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नारासहित चैत ५ गतेदेखि सुरु भएको मेला आइतबार सकिएको हो। मेलामा व्यावसायिक ६५, अफिसियल ११, प्रतिस्पर्धात्मक दुई, फुड दुई, ल्याण्डस्केप एक, सेल्फी एक तथा बीवाईडी ईभी कारसहित गरी कुल ८३ वटा स्टल रहेका थिए। प्रदर्शनीमा सहभागी व्यवसायीले उत्पादन गरेका फूल तथा बिरुवाहरू विभिन्न विधामा प्रतिस्पर्धामा समावेश गरिएको बजगाईंले जानकारी दिए।
हाल देशभर ५२ जिल्लामा २७० हेक्टर क्षेत्रफलमा फैलिएको पुष्प व्यवसायमा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी रहेको र करिब ५३ हजार ५०० भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएको तथ्यांंक छ।
पछिल्लो समय विदेशी फूलको आयातमा भने उल्लेख्य गिरावट आएको छ। अघिल्लो वर्ष २७ करोड ७९ लाख रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएकोमा यस वर्ष ५४.२७ प्रतिशतले घटेर १२ करोड ७० लाख रुपैयाँमा सीमित भएको भन्सार विभागको तथ्यांकले देखाएको छ। निर्याततर्फ भने १०९.१६ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको छ। रासस